कोरिया सरकारद्धारा ५० हजार थान पीसीआर किट सहयोग


काठमाडौ, २ जेठ । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोइका)ले आज  ७ लाख ६५ हजार अमेरिकी डलर बराबरको परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित अनौपचारिक कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका कार्यवहाक राजदूत सन चिल कोनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई किट हस्तान्तरण गरेका थिए ।

सो अवसरमा राजदूत कोनले पहिलो चरणमा २५ हजार थान किट आएको र बाँकी २५ हजार आगामी शनिबारसम्म आउने जानकारी दिए । उनले नेपालमा लागि अहिले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै विभिन्न गैरसरकारी संस्था मार्फत पनि नेपाल सरकारसंग आवद्ध भएर काम गरेको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेलले कोरोना विरुद्धको अभियानमा कोरिया सरकारले उपलव्ध गराएको किट निकै महत्वपूर्ण हुने भन्दै सरकारको तर्फबाट धन्यवाद दिए ।

कोइकाले केही दिन अघि मात्रै चारवटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि भन्दै कोरोना विरुद्ध प्रयोगहुने स्वास्थ्य सुरक्षा सामग्रीहरु पीपीई, मास्क, सर्जिकल मास्क, सर्जिकल ग्लोव्स तथा स्यानिटाइजर गरी करीब ७७ हजार अमेरिकी डलर बराबरको सहयोग उपल्वध गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *