मृत्युपछि कोरोना पुष्टि भएका पाल्पाका पुरुषसंग थियो २७ जनाको ग्रुप

पाल्पा, २२ जेठ । मृत्युको तीन दिन पछि कोरोना भाइरस (कोभिड – १९) संक्रमण पुष्टि भएका पाल्पा पूर्वखोला गाँउपालिका वडा नं १ सिलुवाका ४५ बर्षीय पुरुष गत १८ जेठमा सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए ।

उनीसंगै भारतको मुम्वईबाट आएका २७ जनाको टोली थियो । पूर्वखोला गाँउपालिकाले सुनौली बोर्डर बस लिएर गई उनीहरुलाई ‘रिसिभ’ गरेको थियो ।

उनको घर वडा नं १ मा भएपनि गाँउपालिकाले ठूलो संख्या र उनीहरुलाई एकै ठाँउमा राख्नुपर्ने भएको भन्दै वडा नं २ मा व्यवस्थापन गरेको थियो । उनको घर सिलुवा र क्वारेन्टाइनस्थल भएको जल्पाको दुरी झण्डै १५ किलोमिटर दुरीमा पर्दछ ।

गाँउपालिकाका स्वास्थ्य प्रमुख मोहन ढकालका अनुसार मुम्बईबाट आएको २७ जनाको टोलीलाई सुनौलीबाट तानसेन हुँदै पूर्वखोला २ जल्पामा १८ जेठको राती साढे १० बजे तिर ल्याइ पु र्‍य ाइएको थियो । मृत्यु भएका व्यक्तिमा मध्यरातबाट ज्वरो र स्वासप्रस्वासमा अफ्टेरो भएको थियो ।

‘विहान साढे ४ बजे तिर मलाई खबर भयो, त्यसपछि क्वारेन्टाइन नजिक रहेका स्वास्थ्यकर्मी साथीलाई खटाएँ । उनले लक्षणहरुको आधारमा तानसेन सिफर गर्नुपर्ने सुझाए । त्यसैको आधार १० बजेतिर मिसन अस्पताल पठाइयो । एम्बुलेन्स र अरु गाँडी नपाइने, अघिल्लो दिन उनीहरुलाई ल्याएकै बसमा चडाएर तानसेन पठायौँ । अर्को दिन अर्थात २० जेठका दिन उनको मृत्यु भयो,’ ढकालले भने ।

लक्षण मिलेको र भारतबाट आएको हुनाले अस्पतालले मृत्युपछि श्वास संकलन गरेर भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । त्यसको रिपोर्ट आज दिउसो साढे ३ बजे आएको हो ।

‘रिपोर्ट पोजेटिभ आएपछि हामीले शव व्यवस्थापन गर्न मिलेन, जिल्ला प्रशासन, जिल्ला स्वास्थ्य र नेपाली सेनाले मिलेर त्यसको व्यवस्थापन गर्नु पर्छ,’ शव व्यवस्थापन कार्य र परिवारसंग सहजीकरण गर्न सदरमुकाम पुगेका गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले भने ।

स्थानीय प्रशासनले कोरोना संक्रमितहरुको मृत्यु भएमा शव व्यवस्थापन गर्ने स्थान बुटवल पाल्पा सडक खण्डमा पर्ने चर्चरे डाँडा माथि बनाएको उनले बताए ।

‘झण्डै २० बर्ष जति भयो मुम्बई बसेको गाँउले साथीहरुसंग मिलेर फास्टफुटको व्यापार गर्नुहुन्थ्यो । नेपाल छिरेको तीन दिनमै मृत्यु भयो र परीक्षणका क्रममा कोरोना पुष्टि भयो । यसमा हामी निकै दुखी छौँ,’अध्यक्ष थापाले भने ।

उनी एक रात बसेको पूर्वखोला २ जल्पास्थित शम्भु मावि क्वारेन्टिनमा अहिले ४१ जना छन् । अब उनीहरुको पनि पीसीआर परीक्षण गर्नुपर्ने निस्कर्षमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पा पुगेको छ । ‘अब केही दिनमै उहाँहरुको स्वाव लिन्छौँ र परीक्षणका लागि पठाउँछौँ,’ जिल्ला स्वास्थ्यका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

पाल्पामा भएको मृत्युसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *