अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)संग अलग भएको राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी ।

वासिङ्टन, १७ जेठ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)संग सबै प्रकार सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन डब्लुएचओ असफल रहेको आरोप लगाउँदै उनले सम्बन्ध तोडेको घोषणा गरेका हुन् । ट्रम्पले यसअघि नै डब्लुएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गरेका थिए ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लुएचओलाई व्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्लुएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आइरहेको थियो।

अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्लुएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दथ्यो ।
अमेरिकाको यो निर्णय वासिङ्टन र बेइजिङबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ।

धेरैले यसलाई अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्दै आएका छन्। ट्रम्पको यस कदमलाई उनको राष्ट्रपति पुनः निर्वाचित हुन प्रयोग गरिएको चीन विरोधी कार्डका रूपमा समेत हेरिएको छ।

शुक्रबारको पत्रकार सम्मेलनमा पनि ट्रम्पले डब्लुएचओ चीनको पक्षपोषण गरेको आरोप दोहो¥याए । उनले भने, ‘डब्लुएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ । चीनले केबल चार करोड डलर दिन्छ तर डब्लुएचओ उसैको नियन्त्रण छ ।’

अमेरिकाले डब्लुएचओलाई केके सुधार गर्ने भनेर विस्तृत रुपमा भनेको तर डब्लुएचओले नमानेको आरोप ट्रम्पले लगाए ।

चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको र डब्लुएचओ पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्लुएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ ।

२०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित एक पशुपन्छी बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आशंका गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *