नेशनल मेडिकल कलेजमा आठ दिन अघि मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि

काठमाडौँ, १२ जेठ । उपचारको क्रममा आठ दिन अघि मृत्यु भई दाहासंस्कार समेत गरिसकेका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा गत ४ जेठमा निधन भएका कलैया ७ बाराका ७० बर्षिय बृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

क्षयरोग, दम र मिर्गौलाको समस्या भएका बृद्धमा स्वासप्रश्वासको समस्या भएपछि परिवारले गत २ जेठमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएको थियो । स्वाशप्रस्वासको समस्या देखिएको भन्दै सोही दिन अस्पतालले थ्रोट स्वाब झिकेर परीक्षणका लागि वीरगञ्ज पठाएको थियो ।

बिरामीलाई भने भेन्टिलेटरको सहायतामा आइसीयूमा राखिएको थियो । तर रिपोर्ट नआउँदै बिरामीको ज्यान गयो । शंकास्पद विरामीको ज्यान गइसकेपछि पनि रिपोर्ट नआउँदासम्म सुरक्षित ढंगले राख्नुपर्नेमा अस्पतालले शव आफन्तको जिम्मा लगाएको छ । आफन्तले ४ जेठमै शव लगेर दाहासंस्कार गरिसकेका छन् ।

‘२ जेठमा कोरोना परीक्षणका लागि पठाएको नमूनाको रिपोर्ट १० दिन पछि आज आयो । त्यो पनि मौखिक रुपमा जानकारी मात्रै,’ नेशनल मेडिकल कलेजका कोभिड – १९ संयोजक डा. असरफ हुसेनले थपे, ‘मान्छे मरिसकेपछि आफन्तको प्रेसर पनि बढी भयो । सब पठाइयो ।’

नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले भने रिपोर्ट नआउँदासम्म शब राख्नुपर्ने मापदण्ड रहेको स्पष्ट पारे । ‘शंकास्पद भनिएका व्यक्तिको रिपोर्ट नआउँदासम्म त्यसलाई पोजेटिभ नै मान्नुपर्छ । त्यसैले मृत्यु भएपनि सुरक्षित ढंगले राख्नुपर्ने थियो । तर त्यहाँ के भयो मलाई थाह भएन’ उपाध्यायले भने ।

डा हुसेनले वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोधेरै पछि थाहा पाएको बताए । उनले रिपोर्ट समयमै नआउँदा शंकास्पद विरामीको उपचार गर्न समेत कठिनाई हुने बताए ।

‘अब आज रिपोर्ट आएपछि हामीले बारामा समेत स्थानीय प्रशासन मार्फत खबर पुर्‍याईसकेका छौँ । यहाँ पनि अब के के गर्नुपर्ने हो । त्यसका लागि मिटिङ हुँदैछ,  डा हुसेनले  भने ।

उपचारमा सम्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरु प्रोटोकल अनुसार सुरक्षाका लागि क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । रिपोर्ट आइसकेपछि अहिले नेशनल मेडिकल कलेजको आईसीयू सिल गरिसकिएको छ ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *