जनकपुरका पत्रकारलाई पनि देखियो कोरोना संक्रमण !
काठमाडौँ, ३१ बैशाख । जनकपुरमा पनि एक जना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्जमा दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको समाचार सार्वजनिक भएको चौविस घण्टा नवित्दै जनकपुरमा अर्का पत्रकारमा कोरोना संक्रमण भएको पुष्टी भएको हो । संक्रमित पत्रकार ४० वर्षका छन् ।
केही दिन अघि नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा जनकपुरका पत्रकारलाई स्वइच्छाले कोरोना परीक्षण गराउन सक्ने भनिएको थियो । त्यसपछि २१ जना पत्रकार र दुई जना बाहिरको व्यक्ति गरी २३ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये एक जना पत्रकार र एक जना बाहिरको मान्छेको कोरोना पोजेटिभ देखिएको हो । यो हिजो रातीकै विवरण हो ।
स्थानीय पत्रकार हदिश खुद्धारका अनुसार संक्रमित पत्रकार बाहिरको भनिएका व्यक्ति पत्रकार महासंघ धनुषा शाखा कार्यालय रहेको भवनको भुईतल्लामा पुस्तक पसल गर्ने व्यक्ति हुन् ।
‘लकडाउन पछि जनकपुरमा पत्रकारहरु महासंघको कार्यालयमा गएर समाचारका विषयमा छलफल गर्ने र लेख्ने कार्यमा बढी क्रियाशिल थिए । कार्यालयले पत्रकारको सहजताका लागि खानाको समेत व्यवस्था मिलाएको थियो । समाचार लेख्नका लागि कम्प्युटरको व्यवस्था थियो । त्यसैले धेरै साथीहरु त्यहि जान्थे र त्यहिबाट काम गर्दथे । संक्रमित भएका पत्रकार साथी पनि त्यहाँ जाईआई गर्नुहुन्थ्यो । उहाँलाई संक्रमण देखिएछ । कार्यालयको तल पसल गर्नेमा पनि देखिएछ,’ खुद्धारले भने ।
ती पत्रकार र अर्का स्थानीयलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
सम्पर्क इमेल : [email protected]