स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई सीडीसी र एफडीए मोडलमा परिवर्तन गर्ने तयारी

काठमाडौँ, २२ बैशाख । सरकारले स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागको बर्तमान संरचनालाई परिवर्तन गर्ने तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई सेन्टरफर डिजिज कन्ट्रोल (सीडीसी) तथा औषधि व्यवस्था विभागलाई फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)को रुपमा पुर्न संरचना गर्ने तयारी थालेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक बर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा यी दुई विषयले प्रवेश पाउने छन् । ‘स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागको  स्वरुपमा परिवर्तन हुने कुरा हो । यो विषय आगामी नीति तथा कार्यक्रममा लगिदैछ,’ मन्त्रालय उच्चस्रोतले भन्यो ।

‘सीडीसी बनिसकेपछि रोगको अनुसन्धान तथा नियन्त्रणमा उच्चस्तरीय रुपमा लाग्न मिल्ने, एफडीए बनिसकेपछि औषधि बाहेक, न्युट्रास्यूटिकल्स, सर्जिकल तथा अन्य खाद्य तथा पोषण सम्वन्धी सामग्रीहरुको समेत अनुगमन तथा नियमन गर्न सकिने भयो । त्यसैले यी दुबै क्षेत्रलाई अलि बृहत बनाउन खोजिएको हो,’ स्रोत ले भन्यो ।

विभागहरुको नाम र स्वरुपमा परिवर्तन हुँदै गर्दा, कर्मचारीहरुको दरबन्दी विवरण पद र तहमा समेत परिवर्तन हुने बताइएको छ ।

प्रदेशमा स्वास्थ्य मन्त्रालय, स्थानीयलाई बढी जिम्मेवार
स्वास्थ्य सेवा विभाग परिवर्तन भएपछि प्रदेश तहमा छुट्टै स्वास्थय मन्त्रालय बनाउने प्रस्ताव अघि बढ्ने बताइएको छ । विभागले गर्ने काम प्रदेश अघि प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने प्रस्ताव समेत अघि बढाउने बताइएको छ ।

‘अब प्रदेशमा सामाजिक विकास मन्त्रालय होइन छुट्टै स्वास्थ्य मन्त्रालय हुनेछ । र अहिले विभागको काम चिकित्सक, स्वास्थ्यकर्मीहरुको नियुक्ति, पदस्थापन सरुवा बढुवाको काम प्रदेशबाट गराइने छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

यस्तै स्थानीय तहको स्वास्थ्यको संरचना थप विकसित र बलियो बनाउने प्रस्ताव समेत अघि सारिएको छ । ‘अब अस्पताल तथा स्वास्थ्य संस्थाहरु स्थानीय तह नगरपालिका तथा गाँउपालिकाहरुले संचालन गर्ने, त्यहाँका स्वास्थ्यका अन्य संरचना र तिनको विकासमा पनि जोड दिने कुरा भइरहेको छ । आगामी नीति तथा कार्यक्रममा यी सबैकुरा समेटिन्छन्,’ ती अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *