रुपन्देहीका संक्रमित युववको परिवारमा देखिएन कोरोना

बुटवल, २१ बैशाख । रुपन्देहीका कोरोना संक्रमित युवकको दाजुको परिवार र सम्पर्क भएका अन्य गरी १० जनामा कोरोना संक्रमण नभएको पाइएको छ । कोटहीमाई गाउँपालिका–१ सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमितका दाजु र उनको ७ जना परिवार तथा बाटोमा भेट भएका अरु ३ गरी १० जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको हो ।

संक्रमित २५ बर्षका युवक भारतको दिल्लीबाट ट्रक चढेर र पैदल यात्रा गर्दै लकडाउनको समयमा गत ५ बैशाखमा मर्चवारको ठोठरी नाकाबाट घर आउदै थिए । उनलाई सिमा नाकाबाट दाजुले रेस्क्यु गरी ल्याएर मर्चवार आदर्श माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । पीसीआर परीक्षणका क्रममा गत शुक्रबार उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

‘उनमा पोजेटिभ देखिएपछि उनलाई लिन गएका दाजु र उनका परिवार तथा बाटोमा भेट भएका भनिएका ३ जना गरी कुल १० जनाको परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

कोरोना संक्रमित युवकलाई शुक्रबार नै बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोभिड १९ फोकल पर्सन डा . सुदर्शन थापाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *