‘कोभिड – १९ विरुद्ध नेपाली नर्सको भूमिका प्रसंशनीय, राज्यले प्रोत्साहनका थप प्याकेज ल्याओस’

काठमाडौँ, २० बैशाख ।  नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक मनकुमारी राईले कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका नर्सको लागि राज्यले विशेष प्रोत्साहनका व्यवस्था मिलाउन आग्रह गरेकी छन् । उनले महामारीविरुद्धको यो बेला नर्सको भूमिका महत्वपूर्ण र प्रशंसनीय देखिएको भन्दै राज्यले थप प्रोत्साहनको व्यवस्था मिलाउन आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित रुपमा गर्दै आएको कोभिड १९ अपडेटमा बोल्दै अध्यक्ष प्राध्यपक राईले भनिन्,  ‘चिकित्सकले स्वास्थ्य जाँच गरेपछि उनीहरुलाई रेखदेख गर्ने, स्याहार गर्नेदेखि औषधि पानीको व्यवस्थापन र नियमित हेरचाहको काम नर्सले नै गर्नुपर्छ । त्यसैले कोरोना विरुद्धको अभियानमा नर्सले गरेको काम एकदमै महत्वपूर्ण र चुनौतीपूर्ण छ ।’

उनले यो महामारीबाट पाठ सिकेर नर्सिङ शिक्षाको गुणस्तर बढाउन र सेवाको सम्मान गर्ने बाताबरण गराउन राज्यले थप ध्यान दिनुपर्ने बताइन ।

‘कोरोना भाइरसले महामारीको रुप लिदै जाँदा नेपालका नर्समा पनि शुरुवातमा अन्यौलता थियो । तर अहिले बिस्तारै अभ्यस्त हुँदै नर्सलगायत सबै स्वास्थ्यकर्मीले ठूलो साहसका साथ काम गरिरहेका छन्,’उनले भनिन् ।

प्रा राईले नेपालका नर्सहरुले बालबच्चा गृहस्थी हेर्ने देखि विरामीको उपचारमा सहयोग र स्याहार गर्नेसम्मका कामहरु गर्नुपर्ने भन्दै यो अवस्थामा उनीहरुको आत्मबल जगाउन जरुरी रहेको बताइन । उनले नर्सको लागि स्वास्थ्य सुरक्षा सामग्री देखि परीक्षणका गर्ने सम्मका सुविधाहरु सहजताका साथ उपलव्धता गराईदिन समेत मन्त्रालयको ध्यानाकर्षण गराईन ।

उनले अहिले दाताले दिएको स्वास्थ्य सामग्रीको गुणस्तर कस्तो छ भन्ने कुरामा ख्याल गर्न समेत मन्त्रालयको ध्यानाकर्षण गराईन । राईले कोभिड–१९ रोकथामका लागि सबै क्षेत्रमा काम गर्ने नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कामको प्रशंसासमेत गरिन्।

यसअघि मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड– १९ को रोकथाममा नर्स तथा स्वास्थ्य स्वयंसेविकाको खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै मन्त्रालयको तर्फबाट प्रसंशा समेत गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *