डा. गोविन्द केसीको अनसन धनगढीमा सुरु

8
Shares

धनगढी, ७ साउन । डा. गोविन्द केसीले आजबाट अनसन सुरु गरेका छन् । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आज दिउसो पत्रकार सम्मेलन गर्दै डा. केसीले अनसन सुरु गरेका हुन् ।

अनसनका लागि उनी हिजो धनगढी पुगेका थिए ।

त्यसो त धनगढी र सुदूरपश्चिमका कतिपय सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा स्थानीयहरुले अनसन नगर्न भन्दै अनुरोध गरेका थिए । उनका मागमा यसै शैक्षिक सत्र देखि एमबीबीएस कक्षा सुरु गर्ने तयारीमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरुको नियुक्ती बदर गर्नु पर्ने लगायतका भएपछि त्यसो नगर्न भनेका हुन् । यतिवेला पदाधिकारीहरुको विषय उठाउँदा त्यसले एमबीबीएस कक्षा सञ्चालनको योजनालाई प्रभाव पार्ने उनीहरुको आशंका रहेको छ । तर डा केसीले आफू अडानमा स्पष्ट रहेको भन्दै पदाधिकारीहरुको नियुक्ती बदर हुनुपर्ने भन्दै आएका छन् ।

उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा गरिएको नियुक्ती समेत बदर गर्नुपर्ने माग अघि तेरस्याएका छन् ।

उनका अरु माग यस्ता छन् :

१. स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस्।

२. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस्।

३. ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्। साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस्।

४. सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस्।

५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *