२१ वर्षअघि घाँटीमा देखिएको डल्लो जब दुर्लभ ट्युमर भन्ने थाहा भयो…

124
Shares

काठमाडौँ, ७ साउन । नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ ।

नर्भिक अस्पतालका न्युरोसर्जन डाक्टर पावनबहादुर भण्डारीको नेतृत्वमा चिकित्सकहरूले ७१ वर्षीया वृद्धा महिलाको मस्तिष्कको धमनी वरपर रहेका नसाहरूबाट उत्पन्न भएको दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरेका हुन् । डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठूलो सुन्निएको डल्लो (ट्युमर) थियो ।

शल्यक्रियामा डा. भण्डारीसँगै डा. पुरुषोत्तम बानियाँ र डा. समीर अर्याल संलग्न थिए । यस्तै एनेस्थेसियामा डा. सुरेश लामिछाने लगायतको चिकित्सकीय टोली सहभागी थिए ।
चिकित्सकहरूले असार २५ गते ७ घण्टा लामो शल्यक्रिया विधिबाट बिरामीको ट्युमर निकालिएको हो ।

‘बिरामीको बायाँ घाँटीमा वर्षौँदेखिको ट्युमर बढ्दै–बढ्दै गएको अवस्था थियो,’ डा. भण्डारीले भने, ‘उहाँको ट्युमर निकालेर सफल उपचार गरेका छौँ ।’

उक्त ट्युमरकै कारण बिरामीमा श्वासप्रश्वासको समस्या, अचेत हुने, शरीरको कुनै भाग बेलाबेलामा झम्झमाइरहने र टाउको हल्लाउँदा चक्कर लाग्ने लगायतका समस्या बढ्दै गएका थिए ।

बिरामीका आफन्तले बताए अनुसार ती महिलामा २१ वर्षअघि घाँटीमा सानो मासुको डल्लो देखिएको थियो । अन्य अस्पतालमा यसअघि नै दुईपटक सर्जरी गर्ने तय गरिए पनि विभिन्न कारणले उपचार गरिएको थिएन ।

डा. भण्डारीका अनुसार बिरामीको घाँटीमा बायाँतर्फको भर्टिब्रल आर्टरी धमनीबाट उत्पन्न अत्याधिक भास्कुलर ट्युमर देखिएको थियो । यो मस्तिष्कको धमनी वरिपरि रहेका नसाहरूबाट उत्पन्न हुने एकदमै दुर्लभ ट्युमर हो । ट्युमरको उत्पत्ति, स्थान र ट्युमरको वरपरका संरचनाहरूका कारण यस्तो ट्युमरको सर्जरी प्रक्रिया जटिल मानिन्छ ।

नर्भिकमा उपलब्ध उच्चस्तरीय अप्रेसन थियटर, आईसीयू लगायत उपचार प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीको विज्ञताका कारण ती महिलाको उपचार सम्भव भएको अस्पतालले जनाएको छ ।

बिरामीको सर्जरीका लागि रक्तस्राव कम गर्न भर्टिब्रल आर्टरीलाई मेरुदण्डभित्रबाट बाहिर निकाली ट्रान्सपोजिसन गर्ने योजना बनाइएको थियो र शल्यक्रियाका दौरान त्यसै गरिएको डा. भण्डारीले जानकारी दिए । ‘मूल धमनीलाई नै बन्द गर्नुपर्ने स्थिति आएको खण्डमा, मस्तिष्कको रक्तसञ्चार कायम राख्न भर्टिब्रल आर्टरी बाइपासको तयारी गरिएको थियो । तर बाइपास गर्नुपर्ने अवस्था आएन,’ डा. भण्डारीले भने ।

शल्यक्रियापछि बिरामीलाई डा. प्रदीप तिवारीको नेतृत्वमा क्रिटिकल केयर टिमले आईसीयूमा राखेर निगरानी गरेको थियो । बिरामीको अवस्था सामान्य भएपछि शल्यक्रिया गरेको दुई दिनपछि बिरामीलाई डिस्चार्ज गरिएको थियो ।

के थियो समस्या ?
बिरामीका छोरा बुहारीका अनुसार बिरामीको समस्या सुरु भएको थियो २१ वर्ष अगाडि । घाँटीको बायाँ भागमा बाहिरपट्टि एउटा डल्लो देखियो । उक्त डल्लो बिस्तारै बढ्दै गयो । गलगाँड हो कि भन्ने सोचे तर त्यतिबेला आफैँ ठिक होला भन्ने सोचेर उपचार गराएनन् ।

बिरामीको २०७२ साल अगाडि नै पत्थरीको समस्याको आकस्मिक रूपमा अप्रेसन भयो । उक्त अप्रेसनको क्रममा पनि घाँटीमा आएको डल्लो के हो भन्ने कुरा फेरि निस्कियो । तर त्यसको जाँच वा उपचारमा कसैले ध्यान दिएनन् ।

तर जब टाउको दुख्ने, ज्वरो आउने समस्या देखियो, हरेक समस्याको कारण त्यही घाँटीमा आएको मासुको डल्लो हो कि भन्ने शंका भएपछि २०७२ साल असोज–कात्तिकतिर उनकी बुहारीले बिरामीलाई अप्रेसन गराउन अस्पताल लगिन् । काठमाडौँको एक अस्पताल (नाम नखुलाइएको)मा स्वास्थ्य जाँच गराइन् । जाँचको क्रममा चिकित्सकहरूले मुटुबाट टाउकोमा गएको नसामा मासु पलाएको र त्यसको अप्रेसन गर्नुपर्ने बताए ।

त्यहाँबाट उनीहरूलाई काठमाडौँको वीर अस्पतालमा रेफर गरिदिए । उक्त मासुको डल्लो अप्रेसन गरेर निकाल्ने तयारी भयो । उनीहरूले अप्रेसनका लागि आवश्यक पर्ने औषधिहरू किनिसकेका थिए । चिकित्सकहरूले अप्रेसन गर्नुअघि बिरामी पक्षलाई सर्जरीका क्रममा हुने जोखिमबारे प्रस्ट्याए । सर्जरीका क्रममा प्यारालाइसिस हुनेदेखि मृत्युको जोखिमसम्म हुनसक्छ भनेपछि उनीहरू डराए । त्यतिबेला बिरामीलाई सुगर पनि देखियो । किनिसकेको औषधि पनि फिर्ता गरेर अप्रेसन नै नगरी उनीहरू घर फर्किए । बिरामीले सुगरको औषधि भने चिकित्सकको सल्लाह अनुसार नियमित खाइन् ।

अप्रेसन नगरेपछि घर, परिवार, छिमेक र समाजमा घाँटीमै पलाएको मासुको डल्लोको मात्रै चर्चा हुने भएपछि बिरामी र उनका परिवार दिक्क भइसकेका थिए ।

नियमित सुगर जाँच गर्ने क्रममा २०७५ सालतिर नियमित जँचाइरहेको अस्पतालमा (नाम नखुलाइएको) पुनः सर्जरीको तयारी भयो तर त्यहाँ मेसिन बिग्रिएको कारण त्यतिबेला पनि सर्जरी स¥यो । अप्रेसन टरेपछि बिरामीले केही वर्षअघि झण्डै ७ महिना नियमित थेरापी समेत गराएकी थिइन् । तर थेरापीले पनि घाँटीमा पलाएको मासु सुकेन ।

दुईपटक अप्रेसन रोकियो । घाँटीमा भएको मासुको डल्लोको आकार बढ्दै-बढ्दै गयो । त्यसले गर्दा बिरामी र उनका परिवारमा तनावको अवस्था भइरह्यो ।

बिस्तारै स्वास्थ्यमा जटिलताहरू देखिन थाले । बेलाबेलामा अत्यधिक टाउको दुख्ने, चिटचिट पसिना आउने, अचेत भएजस्तो हुने र शरीरको कुनै भाग नचलेजस्तो झम्झमाउने, घाँटी बाँधिएजस्तो हुने लक्षणहरू देखिए ।

नियमित सुगर जाँच गरिरहेका चिकित्सकले पनि बिरामीको अवस्था देखेर घाँटीमा पलाएको मासुको डल्लो अप्रेसन गरेर हटाउन सुझाव दिए । बेलाबेलामा नाक, कान तथा घाँटी विभागमा जाँदै जँचाउँदै गरेका थिए । उनीहरूले चिकित्सकहरूबाटै धेरैपछि थाहा पाए– उक्त केस न्युरोसँग सम्बन्धित छ ।

उक्त अस्पतालमै बिरामीमा कन्ट्रास्ट सिटीस्क्यान गरेर ट्युमरको जाँच गरियो । सो क्रममा धमनीबाट निस्किएको ट्युमर जस्तो देखिएपछि डिजिटल सब्ट्र्याक्सन एन्जियोग्राम (डीएसए) पनि गरिएको थियो । डीएसएमा बायाँतर्फको भर्टिब्रल आर्टरी धमनीबाट उत्पन्न अत्यधिक भास्कुलर ट्युमर भएको पुष्टि भएको थियो ।

त्यसपछि उनीहरू थप उपचारका लागि नर्भिक अस्पताल आइपुगे । नर्भिकमा डा. भण्डारीसँगको परामर्शपछि उनीहरूले सर्जरी गरेर ट्युमर हटाउने निर्णय गरे । डा. भण्डारीले जटिल केस भए पनि उपचार सम्भव भएको बताएपछि उनीहरू खुसी भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *