नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोभिड १९ संक्रमण


नयाँ दिल्ली,१६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ ।

दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिए । उनले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोविड १९को संक्रमण भएका बताएका हुन् ।

उनले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए ।

उनले मङ्गलबार भने– यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेका छन् । उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए ।

कोभिड १९ का भन्दा अरु अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित

तर उनले दिएको जानकरीअनुसार कोभिड १९को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए ।

उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए ।

उनले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् ।

उनका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उहाँका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोभिड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ ।

स्वास्थ्यमन्त्री जैनले भने– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुने थियो ।

लकडाउन कहिलेसम्म लम्बिन्छ ?

उनलाई सम्वाददाताहरुले सोधेको लकडाउन अझ कहिलेसम्म हुन्छ भनी सोधेको प्रश्नमा भने– अझ ७ दिन त बाँकी नै छ, त्यतिन्जेल हेरौँ यो संक्रमणको फैलावटको अवस्था कस्तो हुन्छ त्यसैको आधारमा हामी आगामी दिनको बारेमा निर्णय गर्नेछौँ ।

हाल त्यहाँ जारी रहेको लकडाउन आगामी मे ३ सम्मका लागि रहने छ । त्यसपछि के गर्ने भन्ने बारेमाा कुनै पनि राज्य तथा केन्द्र सरकारले पनि कुनै निर्णय गरिसकेका छैनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्र पनि भारतका मुख्यमन्त्रीहरुसँग यस विषयमा भिडियो कन्फ्रेन्स बैठक गरेका थिए ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सो बैठकमा सहभागी भएका थिए । मुख्यमन्त्री केजरीवाल भने दिल्लीमा यो संक्रमणको विस्तार दर निकै बढ्दै गएकोले लकडाउनको अवधि थप्नुपर्छ भन्नेमा भएकोे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *