कोरोना भाइरसको छैटौँ संक्रमित : एम्बुलेन्स चालक भागेपछि जनस्वास्थ्य अधिकृतले आफ्नै चालकमार्फत अस्पताल ल्याए

स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ

काठमाडौँ, २१ चैत । विहीबार दिउसो बेल्जियमबाट आएकी बागलुङकी ६५ बर्षीया महिलामा कोरोना भाइरस (कोभिड -१९) पोजेटिभ देखिएको रिपोर्ट सार्वजनिक भएको थियो । त्यस लगत्तै धवलागिरी अञ्चल अस्पतालमा कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी जिल्ला समन्वय समितिको बैठक बस्यो ।

तत्काल भाइरस पोजेटिभ देखिएकी बृद्धालाई अस्पतालमा ल्याउने निर्णय भयो । जिल्ला प्रशासन कार्यालयमा नेपाल रेडक्रस सोसाइटीको एम्वुलेन्स तयारी अवस्थामा थियो । तर चालक भेटिएनन् । धौलागिरी अस्पतालकै पनि अर्को एम्बुलेन्स थियो । तर त्यो एम्बुलेन्सको पनि चालक नभएको भन्ने जानकारी भयो ।

बैठकमा स्थानीय प्रशासन, प्रहरी लगायतका सुरक्षाकर्मी थिए । तर उनीहरुले पनि चालक उपलव्ध गराउन सकेनन् । गुहमन्त्रालयसंग समन्वय गर्नुपर्ने , झन्झट हुने भन्दै पन्छिएर भने, यस्तो काम त स्वास्थ्यले गर्ने हो, जसरी ल्याउने हो ल्याउनुस् भन्दै पन्छिए ।

रात छिप्पिदै गयो । छलफल र अलमल टुंगिने छाँट देखिएन ।

त्यसपछि अघि सरे स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौ । स्वास्थ्य कार्यालयका प्रमुख समेत रहेका उनले आफ्ना सवारी चालक रुद्र पराजुलीलाई आग्रह गरे । उनले आफ्ना चालकलाई डर नहोस भनेर आफू संगै हुने आश्वस्त पारे ।

दुबैजनाले पीपीई लगाए, रुद्रले एम्बुलेन्स चलाए । रातको करीब साढे १० बजे तिर संक्रमित महिलालाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा ल्याइयो ।

‘खासमा एम्बुलेन्स चालक एकाएक हराए । डराएर हुनसक्छ । निकै खोजियो भेटिएनन् , अरु एम्बुलेन्सका पनि चालक उपलव्ध भएनन् । सुरक्षा निकायले पनि तपाईँहरु नै गर्नुस भन्नुभयो । यसको मतलव सबैलाई डर भए जस्तो लाग्यो । अनि म आफै लिन जान्छु भने । मेरो सवारी चालकलाई आश्वस्त पारेँ । म आफै नै जान्छौँ, सुरक्षाको जिम्मा मेरो भनेपछि मेरो चालकले नमान्ने कुरै भएन । दुबै जनाले पीपीई लगायौँ । र त्यहि रेडक्रसको एम्बुलेन्स लिएर गएर विरामी ल्यायौँ, ‘ गुरौले अगाडी थपे,  ‘खासमा म नगएपनि हुन्थ्यो तर एम्बुलेन्स चालक र अन्य निकाय समेत विरामीको अघि पर्न डराएपछि हाम्रो चालकको पनि मनोविज्ञान बुझ्नु पर्दथ्यो । उनलाई म पनि छु हैँ । केही हुँदै भन्नका लागि म संगै गएको हुँ ।’

त्यसो त विश्व स्वास्थ्य संगठनको गाइडलाइनले एम्बुलेन्स चालकलाई पीपीई लगाउन पर्छ भनेको छैन । मास्क र ग्लोव्स लगाए हुन्छ भनेको छ । ‘तर हाम्रा चालकहरु बढी नै डराएपछि हामीले पीपीई प्रयोग गरेका हौँ,’ उनले भने ।

उनले संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य भएको बताए । यद्धपी उनी दमको पुरानो विरामी भएको र नियमित औषधि खाने गरेको जानकारी दिए ।

बृद्धा गत ४ चैतमा बेल्जियमबाट, कतारको दोहा हुँदै नेपाल आएकी हुन् । उनी आएको उडानमा रहेका अरु दुई जना महिलालाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कोरोना भाइरसको छैटौँ संक्रमित : एम्बुलेन्स चालक भागेपछि जनस्वास्थ्य अधिकृतले आफ्नै चालकमार्फत अस्पताल ल्याए

  1. Good jod sir!!! If one can stop transmission than why to run away. Prevention is better than cure… Let’s unite n fight with the Covid 19

Leave a Reply

Your email address will not be published. Required fields are marked *