कोरोना संक्रमण : अमेरिकाद्धारा राष्ट्रिय संकटकालको घोषणा

216
Shares

एजेन्सी  । कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई नियन्त्रण गर्न अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभर संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् ।

विश्व स्वास्थ्य संगठनले दुई दिन अघि मात्रै कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी ‘महामारी’ घोषणा गरेको थियो ।

संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ ।

ट्रम्पले भनेका छन्, ‘आउँदो हप्ता हाम्रा लागि निकै महत्वपूर्ण छ । कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै कोसिस गर्ने छौं । यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौं ।’ उनले कोरोना परीक्षणका लागि देशभर ५० लाख किट एक महिनाका लागि उपलव्ध हुने समेत जानकारी गराएका छन् ।

शुक्रबार नै पत्रकारहरुसँग कुरा गर्दै उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरे । अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उनले सुझाव दिए ।

अमेरिकामा अहिलेसम्म १ हजार ६७८ जनामा संक्रमण देखिएको छ भने ४१ जनाको ज्यान गईसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *