२० वर्ष नपुग्दै विवाह, अधिकांश शिशु कुपोषित

लक्ष्मी भण्डारी

वीरेन्द्रनगर, १ फागुन ।  सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिइन्। उनी एक वर्षमै बच्चाको आमा बनिसकेकी छन्। सुत्केरी हुन स्वास्थ्य संस्था पुगेकी उनलाई स्वास्थ्य संस्थाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो। अस्पतालमा बच्चा जन्मियो तर, कम तौलको थियो। बच्चा जम्मा एक किलो ७०० ग्रामको मात्रै छ।

१५ दिनकी सुत्केरी उनी राम्रोसँग बोल्न पनि सकेकी छैनन्। ‘लामो व्यथा लागेकाले मलाई केही थाहा भएन’, उनले भनिन्, ‘बच्चाको अवस्था कस्तो छ र हुनुपर्ने कस्तो हो त्यो विषयमा केही थाहा छैन।’ विद्यालय पढ्दापढ्दै गाउँकै एक युवकसँग प्रेम विवाह भयो, कलिलो अवस्थामा आमा बनेकी उनलाई आमा हुँदा के–के गर्नुपर्छ राम्रोसँग जानकारी छैन।

१७ वर्षमै विवाह गरेकी सुर्खेत वीरेन्द्रनगर–६ की तुलसा सिंहको पहिलो सन्तान जीवित रहेन। गर्भवती भएको सात महिनामै जन्मिएको बच्चा बचाउन नसकिएको उनले बताइन्। पहिलो सन्तान बितेको एक वर्षको अन्तरालमा लगातार दुई वटा सन्तान जन्मिए।

पहिलो सन्तान छोरा जन्मिएको एक वर्षपछि छोरी जन्माइन् तर, छोरी कुपोषित भइन्। बर्सेनि बच्चा जन्माइरहने र आमालाई पोषणको कमी हुँदा उनका जन्मिएका बच्चा कुपोषित भएका हुन्। ‘राम्रोसँग बच्चालाई खुवाउने दूध नआएकाले छोरीलाई कुपोषण भयो’, उनले भनिन्, ‘छोरीले दूध खुवाउँदा पनि नखाने गर्नाले पनि कुपोषण भयो छोराको त अवस्था ठीकै छ।’ छोरी कुपोषण भएपछि उनी उपचारका लागि प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा पुगिन्। अहिले विगत एक महिनादेखि पुनःस्थापनागृहबाट छोरीको उपचार गराइरहेकी छन्।

दैलेख पाचिकाडाकी सुन्तली शर्मा पनि कुपोषित बच्चालाई पुनःस्थापनागृहमा राखेर उपचार गराइरहेकी छन्। सुन्तलीको १८ वर्षको हुँदा विवाह भयो १९ वर्षको हुँदा पहिलो सन्तान जन्माइन्। ‘मेरो उमेर नपुगेर मैले विवाह गरेँ, बच्चा जन्माउने बेला धेरै पीडा भयो’, उनी भन्छिन्, ‘घरमा घाँस दाउरा गरिरहनुपर्ने कामैकाम दूध खुवाउने पनि फुर्सदै पाइनँ।’ उनले न त आफूले पोषिलो खाना खान पाइन्, न त छोरीलाई राम्रोसँग दूध खुवाउन। यसले गर्दा छोरीलाई कुपोषण भयो।

कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएका अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ। कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति अन्त्य हुन सकेको छैन।

कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा २० वर्षमुनिका बच्चाको आमा प्रायः आउने गरेका छन्। पुनःस्थापना गृहका प्रमुख प्रभा सिंहले पुनःस्थापना गृहमा आउने अधिकांश आमा २० वर्षमुनिको रहेको जानकारी दिइन्। ‘हामीले आमाको छुट्टै रेकर्ड नराखे पनि यहाँ आएकालाई सोधपुछका क्रमबाट पनि उनीहरु २० वर्षमुनिका रहेको पाइन्छ’, उनले भनिन्, ‘यस वर्षबाट बच्चासँगै आमाको पनि छुट्टै रेकर्ड राख्ने तयारी गरेका छौँ।’

पोषणगृहको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएका छन्। तीमध्ये २१ बालिका र ३९ बालक रहेका  छन्। शीघ्र कुषोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए। प्रमुख सिंहका अनुसार ४७ बालबालिका निको भएर गएका छन्। कुषोषणमा प्रायः पाँच वर्षमुनिका बालबालिका पर्ने गरेको जनाइएको छ।

आव २०७५/०७६ मा मात्रै गृहमा १०३ बालबालिका आएका थिए। ‘कुपोषण पुनःस्थापना गृहमा आएका आमा र बालबालिलाई हामीले विभाजन गरेर राख्ने गरेका छौँ,’ उहाँले भन्नुभयो,‘अघिल्लो वर्ष शीघ्र कुपोषण भएका ६५ र  मध्यम कुपोषण भएका ३८ आएका थिए कोही पूर्णरुपमा निको भएर गए भने कोहीबीचमै भागेर गएका थिए।’

कर्णालीमा बालविवाहको दर बढ्दो छ। प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथाइभन्दा बढी किशोरी रहेको तथ्याङ्क छ। भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुने झण्डै आधा सङ्ख्या २० वर्षमुनिको आमा रहेको बताइन्। ‘सुर्खेतमा बालविवाहको अवस्था भयावह छ’, उनले भनिन्, ‘जसले गर्दा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै छ। सानै उमेरमा बच्चा जन्माएका कारण पहिलो त आमा र बच्चाको ज्यान नै खतरामा पर्ने गर्दछ। बाँचेका बच्चा पनि कुपोषण हुनुका साथै विभिन्न रोग तथा सङ्क्रमणबाट ग्रसित हुने गरेका छन्।’

प्रदेश अस्पतालका प्रमुख डा डम्बर खड्काका अनुसार अस्पतालमा प्रसूतिमा जटिलता आउने अधिकांश २० वर्षमुनिका छन्। ‘म आफैँले यो अस्पतालमा काम गरेदेखि यता धेरै महिलाको अप्रेशन गरेको छु जुन १९ वर्ष भन्दामुनिका आमा धेरै छन्’, उनले भने, ‘बच्चाको जन्म अन्तर पनि खासै फरक देखिँदैन।’  अस्पतालमा आउने धेरै आमालाई जन्म अन्तर कम्तीमा पनि पाँच वर्षको फरक पार्नु पर्छ भनेर सल्लाह दिने गरेको अस्पतालले जनाएको छ।

बालविवाहको विषयमा विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गरेर अध्यापन गराउनुपर्ने जरुरी रहेको  डा अर्चना कार्कीले बताइन्। ‘म आफू एक डाक्टर मात्रै होइन एक आमा पनि हो’, उनले भनिन्, ‘त्यसैले अहिले गाउँगाउँमा युवायुवतीलाई छिटो विवाह गरे पछि के हुन्छ र धेरै ढिलो विवाह गरे के हुन्छ यसको बारेमा सरकारको तर्फबाट शिक्षा दिन जरुरी  छ।’ रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *