कोरोनाभाइरसको केन्द्रविन्दु वुहान शहरबाट १९० जना नेपाली सम्पर्कमा

काठमाडौँ, १६ माघ । नयाँ कोरोना भाइरसको केन्द्रविन्दु मानिएको चीनको वुहान शहरबाट बिहीबारसम्म १९० जना नेपाली सरकारको सम्पर्कमा आएका छन् । बेईजिङस्थित नेपाली दुतावासले सञ्चालन गरेको ‘वीच्याट’ र ‘ह्वाट्एप’ ग्रुप मार्फत उनीहरु सम्पर्कमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसबारे जानकारी दिन मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘इपीसेन्टर वुहानबाट विद्यार्थी तथा अन्य गरी १९० जना दुतावासको सम्पर्कमा आउनु भएको छ र उहाँहरु सबै सुरक्षित हुनुहुन्छ ।’

उनले आवश्यकता परे त्यहाँ रहेका नेपालीलाई स्वदेश ल्याउन सकिने समेत बताए । त्यसका लागि अन्तरमन्त्रालयस्तरीय बैठक बसेर आवश्यक निर्णय समेत गरेको बताए ।

आजै मात्र पनि वुहानमा रहेका नेपालीलाई जुनसुकै समयमा स्वदेश फर्काउनुपर्ने अवस्था आउन सक्ने भन्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहिवार विभिन्न मन्त्रालयका उच्चस्तरीय अधिकारीहरुसँग छलफल गरेका छन् ।

एकै पटक त्यति धेरै संख्यामा नेपालीलाई फर्काउनु परे उनीहरुको निगरानी कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको सहभागी मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘सरकारले एकै पटक ठूलो चीनबाट नेपाली ल्याउनु परे छाउनीस्थित नेपाली सेनाको अस्पतालले बनाएको नयाँ ओपिडी भवन प्रयोग गर्न सकिने योजना बनेको बताए । कोरोना भाइरसको इन्कुभेसन पिरियड दुई हप्ताको हुन्छ । त्यतिन्जेलसम्म पनि राख्नु परयो । त्यसबेला ठूलो र सेपरेट ठाउँ चाहिन्छ । त्यसैले सेनाको अस्पतालमा बनेको नयाँ ओपिडी भवन प्रयोग गर्न सहज हुन्छ । भन्ने विज्ञले निस्कर्ष निकालेका छन्,’ श्रेष्ठले भने ।

त्यसबाहेक टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल जस्ता ठूला हव अस्पताललाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *