आज होला त अतिरिक्त स्वास्थ्य सचिवको नाम सिफारिस ? ५ बजे पछि बढुवा समितिको बैठक बस्दै

काठमाडौँ, १८ जेठ । आज भन्दा ठ्याक्कै २५ दिन अघि अर्थात २५ बैशाखको दिन तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवाको रिक्त अतिरिक्त स्वास्थ्य सचिव (१२ तह) पदका लागि नाम सिफारिस गर्न बढुवा सिफारिस समितिको बैठक बसेको थियो ।
लामो समय देखि निर्णय हुन नसकेको सो विषयको त्यसै दिन अन्तिम टुंगो लाग्ला भन्ने पनि धेरैको अनुमान थियो तर आकांक्षीहरुको कासमु लगायतका अंग पुन रुजु गर्ने लगायतका निर्णय गरेर बैठक स्थगित भएको थियो । त्यसबेला अर्को ३० बैशाखमा बस्ने भनिएको थियो । तर विविध कारणले बैठक बस्न सकेन ।
लामो अन्तराल पछि आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बढुवा समितिको बैठक बस्दैछ । बैठक कार्यालय समय पछि अर्थात अपरान्ह ५ बजेपछि बस्ने बताइएको छ । बैठकमा यसबीचमा भएका कासमु लगायतका अंकहरुको पुर्नगणना लगायतका काम हेरी नाम सिफारिस गर्ने योजनामा मन्त्रालयका अधिकारीहरु रहेको देखिन्छन् ।
‘पछिल्लो मूल्यांकनमा पहिले देखि चर्चामा रहेका नामहरुसंगै अरु केही नाम पनि आइरहेकोले कस-कसको नाम सिफारिस हुन्छ त्यो भने हतार हुनसक्छ ‘ मन्त्रालय स्रोतले भन्यो ।
मन्त्रालय स्रोतका अनुसार यसपटक पनि अतिरिक्त स्वास्थ्य सचिवका लागि काठमाडौँ उपत्यका बाहिर रहेर काम गरेका व्यक्तिहरुबीच नै मुख्य प्रतिस्पर्धा भइरहेको छ । त्यसमा शुन्य दशमलवको अंकमा तलमाथि देखिएकोले को अघि पुग्छ भन्ने एकीन नभएको एक जना सदस्यले बताए ।
गत भदौमा टंक बाराकोटीले राजिनामा दिएपछि सो ठाउमा बढुवा गरी लैजानका लागि योग्यता पुगेकाहरुसंग आवेदन मागिएको थियो । त्यसमा १३ जनाको आवेदन परेको थियो ।
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 
