चुरोट कम्पनीको ‘टाइटल स्पोन्सर’ भएको कार्यक्रममा प्रमुख अतिथि बन्दै निवर्तमान प्रधानमन्त्री सुशीला कार्की

कानून विपरित भएको थाह पाएपछि तत्कालीन मन्त्री सहभागी भएनन्, सुशीलाले त्यसो गर्लिन ?

काठमाडौँ, २२ जेठ । कानून त नेपालमा सुर्ती उद्योगले कुनै पनि कार्यक्रमको स्पोन्सर गर्न पाउँदैन । त्यस्ता कार्यक्रममा सार्वजनिक व्यक्तित्वहरु सहभागी हुन पनि मिल्दैन । तर, कानून कार्यान्वयन गर्ने सर्बोच्च निकाय सर्बोच्च अदालतको प्रधानन्यायधीश समेत रहि सकेकी निवर्तमान प्रधानमन्त्री सुशीला कार्की सुर्ती उद्योगको प्रायोजनमा हुन लागेको एउटा कार्यक्रमको प्रमुख अतिथि बनेर उद्घाटन गर्न जाँदैछिन् ।

हो शनिबार (भोली) देखि ललितपुरको होटल हिमालयमा हुने काठमाडौं कलिङ लिटरेरी फेस्टिबलको चौथो संस्करणको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि निवर्तमान प्रधानमन्त्री कार्की रहेकी छन् । सो कार्यक्रमको टाइटल स्पोन्सर नेपालकै प्रमुख चुरोट कम्पनी सूर्य नेपाल हो ।

कानूनमा के छ ?

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’

यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० मा उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको लोगो, संकेत, चिन्ह, कुनैपनि तरिकाबाट सुर्तीजन्य पदार्थको प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सुर्ती उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सुर्ती उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन ।’

पोखराबाट निस्केको चुरोट कम्पनी काठमाडौँमा फेरी छिर्‍यो
‘सुर्य नेपाल गाँथा’को नाम दिइएर टाइटल स्पोन्सर राख्न सफल चुरोट कम्पनी सूर्य नेपाल चर्को विरोध भएपछि दुई वर्ष अघि पोखरामा भएको नेपाल लिटरेटी फेस्टिवलबाट बाहिरिएको थियो । तर अहिले पुन: पहिले जसरी नै लोगो राखेर प्रमुखताका साथ कार्यक्रममा उपस्थिति जनाएको छ ।

नयाँ सरकार नेपालको सुर्ती उद्योगप्रति उदार देखिएपछि चुरोट कम्पनीले पुन: उदाएको हो ।

‘कानून त मिल्दैन, तर यसपटकको बजेटमा सरकारले सुर्य नेपाल लगायतका नेपाली चुरोट कम्पनीको पक्षमा स्पष्ट देखिने गरी सहुलियत प्रदान गरे । यसले उनीहरु हौसिएका छन् र फेरी पनि खुल्लम खुल्ला रुपमा कार्यक्रमको प्रायोजन गर्न थालेका छन् ।’

हुन पनि अर्थ मन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको लागि नेपाली चुरोट कम्पनीको करको दर दुई प्रतिशत मात्रै बढाएका छन् । जवकी प्रतिनिधि सभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति डा. ओजश्वी शेरचनको नेतृत्वमा सांसदहरुको टोलीले करको दर ७५ प्रतिशत पुराउन माग गरेको थियो ।

कानून विपरित भएको थाह पाएपछि तत्कालीन मन्त्री सहभागी भएनन्, सुशीलाले त्यसो गर्लिन ?
त्यसो त दुई वर्ष अघि ललितपुरमा भएको लिटरी फेस्टिवलमा प्रमुख अतिथि बनेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले अन्तिम अवस्थामा सहभागिता जनाएनन् ।

उनले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालको प्रायोजनमा हुने कार्यक्रममा आफू उपस्थित नसक्ने भन्दै उनले कार्यक्रम बहिस्कार गरेका थिए ।

कानूनकी ज्ञाता समेत रहेकी पूर्व प्रधानन्यायाधीश एवं पूर्व प्रधानमन्त्री कार्कीले अब त्यसो गर्लिन ? हेर्न बाँकी छ ।

यसअघि यस्तो कार्यक्रम गर्न नपाइने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र काट्ने गर्दथ्यो । यसपटक मन्त्रालय पनि मौन बसेको छ ।

यसअघिका कार्यक्रमहरुमा विरोध गर्ने नागरिक समाज, गैर सरकारी संस्थाहरु पनि अहिलेसम्म मौन देखिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *