प्रदेश मातहतका अस्पताललाई सुविधासम्पन्न गराउँछौँ : मन्त्री बराल

लमही, २५ मंसिर । प्रदेश नंं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश मातहतका अस्पतालहरुलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार लागेको बताएका छन्। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आज आयोजना गरिएको कार्यक्रममा मन्त्री बरालले सो कुरा बताएका हुन् ।

मन्त्री बरालले अब सबै अस्पतालमा अत्यावश्यक सेवाहरु सञ्चालनका लागि मेशिन औजार खरिद गर्ने तयारी गरेको बताए । उनले सबै अस्पतालमा आइसियु, एनआइसियु र भेन्टिलेटर लगायतका सेवाहरु सञ्चालन गर्ने बताए । “अब अस्पतालहरुलाई रिफर सेन्टर बनाउने होइन सेवा सुविधा सम्पन्न गराई स्थानीयस्तरमै सबै सेवा प्रवाह गर्ने तयारीमा सबै लाग्नुपर्छ”, मन्त्री बरालले भने । उनले त्यसका लागि सबै अस्पतालले अब भौतिक विकास र सेवाका लागि गुरुयोजना बनाएर अगाडि बढ्न आग्रह गरे ।

“हाम्रा अस्पतालहरु डाक्टरहरुले नै कुन कोठामा जाने भन्ने द्विविधा उत्पन्न हुनेगरी भौतिक निर्माण भएका छन् अब त्यसलाई सुधार गर्नुपर्छ”, उनले भने । मन्त्री बरालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यसै वर्ष सिटिइस्क्यान, एनआइसियु र चौबिसै घण्टा डाइलाइसिस सेवा सञ्चालन गर्ने तयारीमा लाग्नसमेत निर्देशन दिए ।

मन्त्री बरालले सबै जिल्लाका स्वास्थ्य केन्द्रहरुमा आइसियुसेवा सञ्चालन र कम्तीमा पनि पाँच वेटको व्यवस्था गर्ने तयारी सरकारले गरेको बताए । मन्त्री बरालले धेरै स्थानबाट आफूलाई अस्पतालमा थप श्यया सङ्ख्या थप्ने दबाब आएको भन्दै श्यया थपेरमात्र नहुने बताए । “मलाई धेरै स्थानबाट अस्पतालमा श्यया सङ्ख्या थपका लागि दबाब आएको छ श्ययाहरु थपेरमात्र हँुदैन सेवा विस्तार गर्नुपर्छ”, मन्त्री बरालले भने ।    रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *