चिकित्सक लाइसेन्स परीक्षा : एमबीबीएसमा ४९ %, बीडीएसमा ४२ % उत्तीर्ण

काठमाडौँ, २२ मंसिर । शनिबार सम्पन्न नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स ) परीक्षामा साढे ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । गत साउनमा भएको यस्तै परीक्षामा साढे ५८ प्रतिशत उत्तीर्ण भएका थिए ।

काउन्सिलका परीक्षा संयोजक समेत प्रवक्ता प्राडा ढुंण्डी पौडेलका अनुसार शनिबारको परीक्षामा एमबीबीएस तर्फ १ हजार २३७ जना र बीडीएस तर्फ ३९९ जना गरी कुल १ हजार ६३६ जना सहभागी भएका थिए । त्यसमध्ये एमबीबीएस तर्फ ४९ प्रतिशत र बीडीएस तर्फ ४२ प्रतिशत उत्तीर्ण भएको उनले जानकारी दिए । परीक्षामा ९ जना अनुपस्थित भएका थिए ।

गत साउनको परीक्षामा भने एमबीबीएस तर्फ ७८ प्रतिशत र बीडीएस तर्फ ३९ प्रतिशत उत्तीर्ण भएका थिए ।

यसपटक अघिल्लो परीक्षाको तुलनामा एमबीबीएसमा झण्डै २९ प्रतिशत कम उत्तीर्ण भएका छन् । तर वीडीएसमा भने ३ प्रतिशत सुधार देखिएको छ ।

काउन्सिलका सदस्य डा कालुसिंह खत्री लाइसेन्स परीक्षाको नतिजामा कहिले बढी र कहिले कम उत्तीर्ण हुनुलाई परीक्षार्थीमा भर पर्ने कुरा भन्छन् । ‘यो त विद्यार्थीको योग्यता सिकाईसंग जोडिएको कुरा भयो । सिधा कुरामा भन्नुपर्दा फेल हुने भनेको त उत्तर नमिलाएरै हो । अरु फ्याक्टर हामीले खोजेका छैनौँ ,’ उनले भने ।

अघिल्ला बर्षहरुमा धेरै पटक परीक्षामा अनुतीर्ण भएकाहरुकै कारणले नतिजा विग्रिरहने बताइने गरिन्थ्यो । तर अचेल त्यसको रेकर्ड सार्वजनिक गरिएको छैन । त्यतिमात्रै होइन कुन देशको परीक्षार्थी कति पास भए भन्ने पनि सार्वजनिक गरिदैन ।

परीक्षा संयोजक प्राडा पौडेल भन्छन्, ‘यो गोपनियताको कुरा पनि हो । परीक्षामा ध्यान नदिने जहाँ पढेर आएका पनि फेल भएका छन् । किन देश तोक्नुपरयो । त्यसैले यसलाई रोकिदिएका छौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *