प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी गाँउपालिका बन्दै पूर्वखोला

पाल्पा, ५ भदौ । पूर्वखोला गाँउ पालिका प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाँउ पालिका बन्ने भएको छ । ‘सून्य होम डेलिभरी’मा पूर्ण सफलता पाएसंगै पूर्वखोला प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी गाँउ पालिका बन्ने भएको हो ।

पूर्वखोलामा अघिल्लो आर्थिक बर्षमा ३११ जना सुत्केरी भएकोमा १६९ जना गाँउ पालिकाको स्वास्थ्य संस्थामा भएका थिए । यस्तै १४१ जना युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा सुत्केरी भएका थिए । एक जना भने स्वास्थ्य संस्थामा लैजाँदा लैजाँदै बाटोमै सुत्केरी भएको गाँउ पालिकाका सूचना अधिकृत एवं सी अहेव मोहन ढकालले बताए ।

‘अहिले हामी वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी गराउँदै छौँ । निकै छिटै गाँउ पालिका नै पूर्ण संस्थागत सुत्केरी गाँउपालिका हुँदैछ । यसको प्रक्रिया शुरु भइसकेको छ । यो भएसंगै पूर्वखोला प्रदेश ५ को मात्रै नभई सम्भवत नेपालकै पहिलो पूर्ण संस्थागत सुत्केरी गाँउपालिका बन्नेछ,’ ढकालले भने ।

पूर्ण संस्थागत सुत्केरी गाँउपालिका हुँदा शिशु तथा मातृमृत्युदर कम हुने र यसले नेपाल सरकारको लक्ष्य प्राप्तीमा सहयोगी बन्ने बताइएको छ ।

यसैबीच गत मंगलबार पूर्वखोला गाँउ पालिका वडा नं ३ मा निर्माण भएको स्वास्थ्य चौकी भवन उद्घाटन भएको छ । एक समारोहकाबीच संघीय सांसद दलबहादुर रानाले नवनिर्मित भवनको उदघाटन गरे । सो समारोहमा प्रदेश सांसदद्धय युवराज खनाल र नारायणप्रसाद आचार्यको समेत उपस्थिति थियो ।

सो अवसरमा बोल्दै सांसद रानाले गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध पूर्वाधार महत्वपूर्ण हुने भन्दै नयाँ भवनले थप सेवा दिने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा वडा नं ३ लाई समेत पूर्ण संस्थागत सुत्केरी वडाको रुपमा घोषणा गरिएको थियो । सो वडामा अघिल्लो आर्थिक बर्षमा कुल ४५ जना सुत्केरीमध्ये २५ जना स्थानीय स्वास्थ्य संस्थामा र २० जना युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेनमा सुत्केरी भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *