नेपालको ‘हार्ट हिरो -२०१९’ को सम्मान प्राडा प्रकाशराज रेग्मीलाई

काठमाडौँ, १७ साउन । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मी नेपालको तर्फबाट ‘हार्ट हिरो – २०१९’ घोषित भएका छन् । बाल मुटु परीक्षण, अनुसन्धान, जनचेतना अभिबृद्धि, स्वास्थ्यकर्मीलाई तालिम तथा मुटुरोगीको उपचार क्षेत्रमा पु-याएको योगदानको आधारमा उनलाई यो सम्मान दिइएको हो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानले गत साता एक कार्यक्रम गरी प्राडा रेग्मीलाई ‘हार्ट हिरो – २०१९’ को सम्मान दिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वर्षेनी १ करोड ७५ लाख मानिस मुटुरोगका कारण मर्ने गर्दछन् । यी मध्ये ८० प्रतिशतको मृत्यु विकाशोन्मुख राष्ट्रहरुमा हुने गरेको छ ।
विश्वभरी नै मुटु रोगको प्रकोप बढ्दै गैरहेको परिप्रेक्षमा विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्ममा मुटुरोगबाट हुने युवा मृत्युदरलाई २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।
यसै सन्दर्भमा, विश्व मुटु महासंघले विश्वभर मुटुरोग रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले प्रत्येक देशको सदस्य संस्थाबाट एकजना यस क्षेत्रमा विशिष्ठ योगदान दिएका व्यक्तिलाई हर्ट हिरो–२०१९ घोषणा गर्ने र यि हार्ट हिरोहरुको विश्वव्यापी सञ्जाल बनाई मुटुरोग रोकथाम र नियन्त्रण अभियान चलाउने पहल गरेको छ ।
यसै सन्दर्भमा, नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालबाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. रेग्मीलाई हार्ट हिरो २०१९ घोषणा गरेको हो । यो सम्मान पछि प्राडा रेग्मीले जेनेभामा रहेको विश्व मुटु महासंघले निर्माण गर्ने हार्ट हिरो सञ्जालमा रहि विश्वव्यापी रुपमा मुटुरोग रोकथाम अभियानमा सहभागी हुनेछन् ।
गत साता एक विशेष समारोहबीच यस प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक, डा. मृगेन्द्र राज पाण्डेले डा. रेग्मीलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए ।
प्राडा रेग्मीले विगत ३ दशक भन्दा बढी समय देखि नेपालमा मुटुरोगको रोकथाम, विशेष गरि बालबालिकाको मुटुलाई क्षति पु¥याउने बाथ मुटुरोगको रोकथाम तथा नियन्त्रण कार्यमा विशिष्ठ योगदान दिंदै आएका छन् । उनी हाल नेपाल हृदयरोग निवारण प्रतिष्ठानका महासचिव साथै कार्यक्रम निर्देशक समेत हुन् ।
वीर अस्पताल, मुटुरोग विभागका प्रमुखका रुपमा लामो समय कार्यभार सम्हाली हालै मात्र नेपाल सरकारको सेवाबाट स्वेच्छिक अवकास लिएका रेग्मीले मुटुरोग रोकथाम तथा समाज सेवाको क्षेत्रमा परिचित नाम हो ।
सम्पर्क इमेल : [email protected]