सेतो दुबी के कारणले हुन्छ ? कसरी गर्ने उपचार ?

  • प्राडा धर्मेन्द्र कर्ण


सेतो दुबी एक प्रकारको छालामा हुने समस्या हो । जुन शरीरमा छालालाई रङ दिने कोषहरुको कमी भएर देखा पर्दछ । हरेक व्यक्तिको शरीरमा रोगसंग लड्न सक्ने क्षमता हुन्छ । तर, कहिलेकाँही त्यहि क्षमता बढी भएर आफ्नै शरीर विरुद्ध काम गर्नै गर्दछ र छालालाई रङ दिने कोषहरुलाई नष्ट गर्दछ । अनि शरीरमा सेतो दुबी देखा पर्दछ ।

एउटा व्यक्तिको शरीरको बाहिरी भाग अर्थात बाहिरी आवरण वा भनौ छालाको रङ कस्तो हुने भन्ने कुरा आमाको पेटमा रहँदा देखिनै तय हुन्छ ।

त्यो काम मानिसको छाला मुनी रहेको मेलानोसाइट भन्ने कोषले गर्दछ । सो कोषबाट मेलालीन भन्ने रसायन उत्पादन गर्दछ । यो त्यस्तो रसायन हो जो छालालाई पुरै शरीरमा रङ दिन मद्धत गर्दछ ।

यो व्यक्तिको शरीरमा यो रसायन बढी हुन्छ उसको छाला कालो हुन्छ । जो व्यक्तिको शरीरमा यो रसायन कम हुन्छ त्यो व्यक्ति गोरो हुन्छ । मध्यम खाले रसायन हुने शरीरको रंङ पनि मध्यम नै हुन्छ । र कम रसायन भएको व्यक्तिमा छाला बढी गोरो भएर आउँछ यसलाई सेतो दुबी भनिन्छ ।

सेतो दुबी रोग हो त ?
सेतो दुबी रोग होइन । किनभने यो हुँदा दुख्दैन, पोल्दैन, एक अर्कामा सर्दैन पनि । अमेरिका तथा यूरोपमा यसको उपचार पनि गरिदैन किनभने यसको उपचार नगरे पनि केही फरक पर्दैन ।

तर, नेपाल लगायत एसियाली देशहरुमा सकेसम्म यसको उपचार गरिन्छ । किनकी यहाँ जनचेतनाको कमी छ । छालाको रङमा सेता धब्बा आउँदाको एक खालको स्टिग्मा पनि यहाँ बढी छ । त्यसले यहाँ सकेसम्म उपचार गर्न कोशिश गर्दछन् ।

के हो त उपचार ?
सेतो दुबीको उपचार दुई किसिमबाट हुन्छ । एउटा खाने लगाउने र घाममा देखाउने हुन्छ भने अर्को मेसिनमा सेक्ने प्रक्रिया छ । जसलाई हामी फोटोथेरापी भन्दछौँ । यो प्रविधि यति सम्म सुरक्षित छ कि गर्भवती महिला र भर्खरै जन्मेको शिशुलाई समेत दिन मिल्छ । यो प्रविधिबाट पनि निको भएन भने शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

सेता दुबीमा के गर्न हुन्छ ? के गर्न हुन्न ?
सेता दुवी हुने व्यक्तिले चोटपटक लाग्ने काम गर्नु हुँदैन । टाइट कपडा, टाइट जुत्ताहरु लगाउनु हुँदैन । घाममा बस्नु फाइदाजनक मानिन्छ तर नरम खालको घाममा मात्रै देखिनु पर्छ ।

जस्तै विहान ८ देखि ११ बजेसम्मको घाम र दिउसो २ देखि ५ बजेसम्मको घाम ठिक हुनसक्छ । तर दिउसको १२ देखि २ बजेसम्मको घाम निकै कडा हुने भएकोले सकेसम्म यस्तो घाममा देखा नपर्नु राम्रो । सेतो दुबी भएको व्यक्तिले जाँड रक्सि र चुरोट बाहेक अन्य जुनसुकै खानेकुराहरु खान मिल्छ ।

सेतो दुबी शरीरको कुन अंगमा देखा पर्दछ ?
यो दुबी प्राय शरीररको चलिरहने अंगहरुमा देखा पर्दछ । जस्तै आँखा, ओठ, कम्मर, कुइना, घूडा हरुमा देखिन सक्छ । यो सरुवा रोग होइन तर आफ्नै शरीरमा भने फैलन सक्छ ।

कति छन् सेतो दुबी भएका व्यक्तिहरु ?
संसारको तथ्यांक हेर्ने हो भने ०.५ प्रतिशतबाट २ प्रतिशतसम्म सेतो दुबी हुने व्यक्ति भएको मानिन्छ । तर नेपालको छुट्टै तथ्यांक छैन । मेरो क्लिनिकको प्यासेन्ट फ्लोलाई हेर्दा करीब ६ देखि ८ प्रतिशत सेतो दुबीकै समस्या लिएर आउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *