ऐन विपरित हुने गरी पीजीमा तोकियो नेपालीलाई भन्दा विदेशी विद्यार्थीलाई बढी सिट


काठमाडौँ, ९ असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चिकित्सा शिक्षा ऐन विपरित पोष्ट ग्राजुएट्स (पीजी) तहको कार्यक्रमका लागि नेपाली विद्यार्थीका लागि भन्दा विदेशी विद्यार्थीका लागि बढी सिट छुट्याएको पाइएको छ ।

गत ७ असारमा प्रतिष्ठानले पीजी भर्नाका लागि जारी गरेको सूचनामा यस्तो पाइएको हो ।

ऐन अनुसार विदेशी विद्यार्थीलाई एक तिहाई भन्दा बढी सिट दिन पाइदैन । तर प्रतिष्ठानले भने सो विपरित पीजीका केही विषयमा तोकिएको सिट संख्या नेपालीका लागि भन्दा विदेशीका लागि बढी छ ।

चिकित्सा शिक्षा ऐन २०७५ को दफा १७ (५) ले ‘स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएका कुल सिट संख्यामध्ये विद्यार्थीको संख्या एक तिहाई भन्दा बढी हुने छैन, भनिएको छ । यो अनुसार पीजीको कुल सिटमा नभएर विषय अनुसारको सिटमा एक तिहाई भन्दा बढी नहुने भन्ने हो तर प्रतिष्ठानले चलाखीपूर्ण रुपमा त्यसलाई कुल सिटमा गाभ्न खोजे जस्तो देखिन्छ ।

कुन कुन विषयमा सिट बढी ?

प्रतिष्ठानले गत शनिबार प्रकाशित गरेको सूचना अनुसार इन्टरनल मेडिसिन र पेडियाट्रिक्समा ५ मध्ये ३ सिट विदेशीका लागि छुट्याएको छ । एनेस्थेसियोलोजी तथा क्रिटिकल कियर मेडिसिनमा पनि एक तिहाई भन्दा बढी अर्थात ११ मध्ये ४ सिट विदेशीलाई छुट्याएको छ ।

यता सर्जरीमा त झन् ६ मध्ये ४ सिट विदेशीका लागि छुट्याएको छ । यस्तै हेड एण्ड निक सर्जरीमा पनि ४ मध्ये २ सिट विदेशीका लागि छुट्याएको छ । जो ऐन विपरित हो ।

नेपाली विद्यार्थीहरुको आपत्ति
यसैबीच प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको संस्था जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले ऐन विपरित केही विषयमा विदेशी विद्यार्थीका लागि बढी सिट छुट्याएको भन्दै आपत्ती जनाएको छ ।

संस्थाका अध्यक्ष डा कविराज पौडेलद्धारा आइतबार जारी विज्ञप्तीमा गल्ती सच्याउन भन्दै प्रतिष्ठान प्रशासनलाई ७२ घण्टाको समयसिमा दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *