‘माइनर ओटी’मा पसेर चिकित्सकलाई थर्काउन थालेपछि……

कपिलवस्तु ३० जेठ । आफूलाई स्थानीय नेता बनाउने दुईजना व्यक्तिले बहादुरगञ्जस्थित शिवराज अस्पतालमा ‘लफडा’ मञ्चाएका छन् । बुधबार दिउसो अस्पतालको ‘माइनर ओटी’मै छिरेर उनीहरुले घाइतेहरुको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दुर्व्यहार गरेका छन् ।

त्यसरी दुर्व्यहार गर्नेमा शिवराज नगरपालिका निवासी रबिदत्त मिश्र र कृष्णनगरनगरपालिका निवासी शिवकुमार गुप्ता रहेका छन् । अस्पताल व्यवस्थापन समितिले उपचारमा सम्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धम्कीदिनेहरुलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारवाही गर्न माग गरेको छ ।

घटना के थियो ?
अस्पतालका चिकित्सक डा वैभव पाण्डेका अनुसार बुधबार दिउसो साढे दुई बजे टाउको एवं शरीरका विभिन्न भागमा चोट पटक लागेका पाँच जना घाइतेलाई अस्पताल ल्याइएको थियो । असर्फी यादव, किशनकुमार यादव, हिरालाल यादव, रामनिवास पासी र प्रविण यादव नाम गरेका ती घाइतेमध्ये तीन जनाको अवस्था अलि गम्भीर थियो ।

चिकित्सकहरुले माइनर ओटीमा लगेर उनीहरुको उपचार गर्दै थिए । त्यसैबेला मिश्र र गुप्ता अस्पताल आइपुगे । दादागिरी शैलीमा अस्पताल आइपुगेका उनीहरुले जवरजस्ती माइनर ओटीमा छिरेर घाइतेहरुको तत्काल तिब्र गतिमा उपचार गर्न दवाव दिए । चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार भइरहेको र एकै छिन बाहिर बस्न आग्रह गरे । तर मिश्रले उल्टै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थर्काउन थाले अश्लिल शव्दमा गाली गर्न थाले ।

‘मलाई चिनेको छैनस् म को हुँ, म यहाँको नेता हुँ । मेरै अगाडी उपचार गर । किचकिच गरिस भने भेट्छस’ भन्न थाले । त्यसपछि हामी बाहिर निस्केउ । तर बाहिर आएर झनै धम्की दिन थालेँ,’ डा पाण्डेले भने ।

उनले अगाडी थपे, ‘खासमा बालुवा लोड गर्ने क्रममा स्थानीय गाउँलेसंग झडप भएपछि ती पाँच जनालाई उपचारका लागि अस्पतालमा ल्याइएको रहेछ । उनीहरु आफ्ना मान्छे रहेको र आफू स्थानीय नेता भएकोले आफूले जे पनि गर्नसक्ने भन्ने मिश्रमा घमण्ड रहेछ । उनी धम्काउने शैलीमा प्रस्तुत नभएको भए सायद हामीले भित्रै कतै कुनामा राख्न पनि सक्थ्यौँ होला । तर जवरजस्ती दादागिरी शैलीमा ओटी भित्रै छिरेर मेरै अगाडी उपचार गर भनेर थर्काउन थालेपछि हामीले सुरक्षित महसुस गरेनौँ र प्रहरीलाई खबर गरयौँ ।’

बुधबार दिउसो साढे दुई बजे तिर घटना भए लगत्तै स्थानीय प्रशासन नगरपालिका र नागरिक समाजका प्रतिनिधिहरु आएर दोषीलाई कारवाही गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी लिने बताएका छन् । ‘त्यसैले हामीले अहिलेलाई सेवा नियमित रुपमै सूचारु गरेका छौँ,’ डा पाण्डेले भने ।

यता सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले बुधबार नै विज्ञप्ती जारी गर्दै उपचारमा सम्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धम्काउने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । गोदान अध्यक्ष डा दीपेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तीमा जेल वीथ आउट वेलको मर्म अनुरुप अपराधीलाई जमानत नहुने गरी अनुसन्धान पुरा गर्न र भविस्यमा यस्ता घटना नदोहोरयाउने बाताबरण मिलाउन स्थानीय निकायले ध्यान पुरयाउन जरुरी छ भनिएको छ ।

गत सोमबार मात्रै सिन्धुली अस्पतालमा विरामी पक्षले चिकित्सक माथि यस्तै दुव्र्यहार गरेपछि चिकित्सकहरुले आकस्मिक तथा अन्तरंग सेवा बाहेकका सेवा बहिस्कार गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *