‘तँलाई सिन्धुली अस्पताल बाहिर निस्कनु छैन ? भन्दै धकल्यो’ – डा. दिवस ढकाल

थाह नभएर आएका बिरामीलाई बाहिर परीक्षण गर्दै चिकित्सकहरु

काठमाडौँ, २८ जेठ । सिन्धुली अस्पतालमा कार्यरत चिकित्सक डा दिवश ढकालमाथि बिरामीको आफन्तले दुर्व्यहार तथा आक्रमणको प्रयास गरेका छन् । हिजो राती करीब साढे ११ बजे अस्पतालको आकस्मिक कक्षमा काम गरेका बेला बिरामीका आफन्तले उनी माथि दुर्व्यहार  गरेका हुन् ।

ड्युटिमा रहेका चिकित्सकमाथि दुर्व्यहार र आक्रमणको प्रयास भएको खबर थाह पाएपछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् । उनीहरुले घटनाको छानवीन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

खासमा घटना के भएको हो त ? आक्रमणमा परेका डा. ढकालले यसरी व्याख्या गरे ।

करीब साढे ११ बजे तिरको घटना हो । त्यो भन्दा एक डेढ घण्टा अघि एक जना गम्भीर अवस्थाको बिरामी (महिला) ल्याइएको थियो । हामीले यहाँ सक्ने उपचार गरयौँ र तत्काल ठूलो अस्पतालमा लैजानु भन्दै रिफर गरयौँ ।

तर एक घण्टा सम्म पनि विरामीको आफन्तले बाहिर लैजाने सुरसार गरेको देखिन । त्यसपछि म उनीहरु निर गएर ‘बिरामीको अवस्था गम्भीर छ, तपाईँहरुले छिटो लैजानुपर्ने किन ढिलाई गर्दै हुनुहुन्छ ?’ भनेर सोधे । त्यसपछि बिरामीको श्रीमान्ले एक्कासी ‘तेरो हस्पिटलमा राख्न नमिल्ने हो बिरामी ?’ भन्दै जंगिए । ? मैले ‘त्यसो भन्न खोजेको होइन तर छिटो लैजानुस बिरामीको अवस्था गम्भीर छ,’ भनेर दोहोरयाएँ । त्यसपछि उनले  ‘तलाई सिन्धुलीमा बाहिर निस्कनु छैन भन्दै थर्काउन थाले । अपशव्द र अश्लिल शब्द बोल्दै जाँदा धकेलेर लडाए ।  त्यसपछि मैले पुलिस प्रशासनलाई खबर गरेँ ।

मलाई दुव्र्यवहार गर्नु अघि नै अरु दुई जना महिला चिकित्सकहरुमाथि समेत उनले अपशव्द बोलेका रहेछन् ।

मलाई दुर्व्यहार गर्ने सिन्धुलीकै एक स्थानीय हुन् । विरामी उनकै श्रीमती हुन् । नाम भने मलाई पनि थाह छैन । तर प्रहरीले पत्ता लगाएको छ रे ।

हिजो आएको बिरामी महिलालाई ‘एक्युट साइकोसिस’ भएको थियो । त्यो भनेको एक्कासी नियन्त्रण बाहिर जाने अवस्था (पागल) हुने रोग थियो । यो अवस्थामा विरामीले टोक्ने चिर्थोने झम्टिने त्यस्तो खालको व्यवहार देखाउँछ ।

हामीले चाही यस्तो विरामीलाई औषधि दिएर सुताउने प्रयास गर्ने हो । तर वहाँ चार महिनाको गर्भवती हुनुहुन्छ । त्यसैले थोरै थोरै औषधि दिएर सुताउने प्रयास गरेका थियौँ । सुते पछि त्यस्तो विरामीलाई सकेसम्म छिटो हामीले बाहिर पठाउने हो । किनभने उहाँ मानसिकसम्वन्धी विरामी हो । हामीकहाँ मानसिक रोग विशेषज्ञ पनि छैनन् । त्यसैले अर्जेन्ट जानुस भनेका हौँ । हाम्रो त्यो ड्युटि नै हो ।

हामीले हाम्रो भन्दा ठूलो अस्पताल जहाँ साइक्याट्रिकको उपचार हुन्छ । त्यहाँ लैजानुस भनेका थियौँ । हामीले नामै तोकेर रिफर गरेका थिएनौँ तर अव्सनहरु दिएका थियौँ । धुलिखेल, पाटन लगायतका अस्पताल ।

हिजो प्रहरी आएपछि उहाँहरु निस्कनु भयो । हामीले पनि पहिलो प्राथमिकता विरामी भन्दै हिजो केही गरेनौँ । अब अहिले विरामी धुलेखेल पुगेर उपचार शुरु भएको छ भन्ने थाह पाएका छौँ । अब उसलाई कारवाही गर्नुपर्छ । किनभने हिजो पो हामीले बिरामीलाई रिफर गरेको छ । अस्पतालमा सकेसम्म चाँडो पुरयाउनुपर्छ भनेर छाडी दिएका थियौँ । अब आज त बिरामी कुर्न अरु मान्छे भई हाल्छ । अब उसलाई नियन्त्रणमा लिएर कानूनी कारवाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।

उसलाई कारवाही नहुँदासम्म यस अस्पतालमा कार्यरत हामी सबै चिकित्सकहरुले आकस्मिक र अन्तरंग सेवा बाहेकका सेवा सुचारु नहुने निर्णय गरेका छौँ ।

डा. ढकालसंग रामप्रसाद न्यौपानेले गरेको कुराकानी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *