झन् झन् बढ्दै छ डेंगुका बिरामी, सरकार भन्छ, ‘नियन्त्रणमै छ’

काठमाडौँ, २८ जेठ । सरकारी निकायले चार – चार दिनमा सार्वजनिक गर्ने रिपोर्टले नै धरानमा फैलिएको डेंगु नियन्त्रण भन्दा बाहिर जाँदै गरेको संकेत गरेको छ । तर सरकारी अधिकारीहरुले डेंगु नियन्त्रणमै रहेको दावी गरेका छन् । उनीहरुले विरामीको संख्या बढी रहेपनि कसै ज्यान नगएको सुनाउँदे आएका छन् ।

गत ३० बैशाख देखि धरानमा देखिएको डेंगु अहिले इटहरी तर्फ पनि देखिन थालेको छ । दुबै ठाँउमा गरी अहिलेसम्म ३१२ जनामा डेंगु पोजेटिभ देखिइसकेको छ । तर अधिकारीहरुले संख्या बढेपनि मृत्यु भइनसकेको भन्दै नियन्त्रणमै रहेको दावी गरेका हुन् ।

संघीय सरकार अन्तरगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले रोग देखिन शुरु गरेको २० दिन पछि अर्थात १९ जेठमा धरानमा फैलिएको डेंगुबारेको अवस्था सार्वजनिक गरेको थियो । उसले त्यसबेला धरानस्थित विभिन्न अस्पतालमा परीक्षणका लागि आएकामध्ये ७५ जनामा डेंगु पोजेटिभ देखिएको उल्लेख गरेको थियो ।

त्यसपछि ईडीसीडीले २४ जेठमा अर्को रिपोर्ट सार्वजनिक गरयो । त्यसमा डेंगुबाट संक्रमित हुनेको संख्या १६३ पुगेको बताइएको थियो । आज २८ जेठमा सार्वजनिक गरिएको प्रतिवेदनमा डेंगुबाट संक्रमित हुनेसंख्या धरान र इटहरीमा गरि ३१२ पुगेको उल्लेख छ । अर्थात ४ दिनमै १४९ नयाँ विरामी थपिएका छन् । चार चार दिनमै दोब्बर तेब्बरले संख्या बढदै गएपनि सरकारले भने नियन्त्रणमै रहेको दावी गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश नं १ का प्रमुख भोगेन्द्रराज डोटेल अपेक्षा अनुरुप विरामीको संख्या घटन नसकेको बताउँछन् । ‘नियन्त्रणका लागि धेरै प्रयास गरिएको भएपनि नयाँ विरामीको संख्यामा कमी हुन सकेको छैन । हरेक दिन ३० -४० जना नयाँ विरामी थपिएको रिपोर्ट आएको छ यो चिन्ताको विषय हो ।’ उनले भने ।

उनले नियन्त्रणको प्रयास प्रभावकारी हुननसकेको स्वीकारे । ‘प्रयासहरु त भइरहेका छन्, तर विरामीको संख्या बढदै जानुले प्रभावकारी कति छ भन्नेमा प्रश्न उठाएको छ । त्यसैले यसलाई गम्भीरता पूर्वक लिनु जरुरी छ । यसमा स्थानीय प्रदेश र संघीय तीन तहको समन्वय जरुरी छ ‘उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *