सालनाल अड्किएकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

बाजुरा, १८ जेठ ।  जिल्लाको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका स्वकीय–सचिव लोकेन्द्र धामीले बताए।

सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको निर्देशनमा रोकायालाई सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको धामीले जानकारी दिए । सुत्केरी हुन नसकेको खबर पाएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको पहलमा हेलिकप्टरमार्फत कोहोलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

बाइस वर्षीया रमिलाको बाजुरामा उपचार गर्न सम्भव नभएपछि नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कँुवरले जानकारी दिए । सुत्केरीको रगत धेरै बगेको छ, दुई दिन भयो बोल्नसमेत नसकेको आफन्तले बताएका छन् । हेलिकप्टरबाट नेपालगञ्ज पठाएपछि अब ज्यान जोगिन्छ की भन्ने आशा रहेको उनीहरुको भनाइ छ । बाजुरामा मात्रै सामाजिक विकास मन्त्रालयको पहलमा यसअघि तीन जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *