त्रिवि शिक्षण अस्पतालमा शुरु भयो कलेजो प्रत्यारोपण, छोरीले दिइन बाबुलाई कलेजो

प्रत्यारोपण पछि सामुहिक तस्बिर खिचाउँदै डा भण्डारी नेतृत्वको टोली

काठमाडौँ, १८ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । अस्पतालका लिभर ट्रान्सप्लान्ट सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले शुक्रबार एक विरामीमा कलेजो प्रत्यारोपण गरेको हो । नेपाली टोलीलाई सघाउन भारतस्थित अपोलो अस्पतालबाट लिभर ट्रान्सप्लान्ट सर्जन डा निरभको टोली नेपाल आएको थियो ।

डा भण्डारीका टोलीले शुक्रबार एक ५८ बर्षीया पुरुष विरामीको कलेजो प्रत्यारोपण गरेको हो । ‘ लिभर सिरोसिसले कलेजो बिग्रिएको एक ५८ बर्षीय बिरामीलाई उनकै ३३ बर्षीय छोरीले कलेजो दान गरेकी हुन् । काठमाडौँ उपत्यकाकै विरामीका हुन् । परिवारको आग्रहका कारण हामीले नाम खुलाउन चाहेनौँ,’  नेपाली हेल्थसंग डा भण्डारीले भने ।

उनले प्रत्यारोपणका लागि १२ देखि १३ घण्टा लागेको समेत बताए ।

‘अब हामी नियमित रुपमा कलेजो प्रत्यारोपण गर्दैछौँ । त्यसका लागि बिरामीको खोजी गरिरहेका छौँ । अब बिरामीले कलेजो प्रत्यारोपणकै लागि विदेश धाउनु पर्दैन । यही सम्भव छ । हामी यो सन्देश दिन चाहन्छौँ,’ डा भण्डारीले भने ।

डा भण्डारीले शनिबार विहानै सामाजिक सञ्जाल फेसबुकमा पहिलो प्रत्यारोपणमा सहभागीहरुको तस्बिर समेत पोष्ट गरेका थिए ।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भएसंगै अब नेपालमा कलेजो प्रत्यारोपण गर्ने दुईवटा अस्पताल भएका छन् । भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्रले तीन बर्ष अघि नै कलेजो प्रत्यारोपण शुरु गरेको थियो । त्यहाँ अहिलेसम्म चार जनाको प्रत्यारोपण भएको छ ।

यता सरकारले निजी क्षेत्रका दुईवटा मेडिकल कलेजहरु कलेज अफ मेडिकल साइन्सेज भरतपुर र चितवन मेडिकल कलेजलाई समेत कलेजो प्रत्यारोपणका लागि लाइसेन्स दिइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *