फुटको संघारमा पुगेको हेल्थ अस्सिटेन्ट संघ पुन: एकजुट, १७ जेठमा राष्ट्रिय सम्मेलन गर्ने
काठमाडौँ, ४ बैशाख । अध्यक्षलाई बर्खास्त गरेपछि फुटको संघारमा पुगेको हेल्थ असिस्टेन्ट संघ नेपाल(हान) एक साता पछि नै पुन एकजुट भएको छ । आगामी १७ जेठमा राष्ट्रिय सम्मेलन गर्नेगरी हान पुन एकजुट भएको हो ।
बर्खास्तमा परेका अध्यक्ष दाताराम अधिकारी तथा उनको समूह र बर्खास्तको निर्णय गर्ने बरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्का तथा उनको समूहबीच मंगलबार संयुक्त बैठक बसेको थियो ।सो बैठकमा विगतमा गल्ती भएको भन्दै आत्मालोचना गरेपछि अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय फिर्ता लिएको बरिष्ठ उपाध्यक्ष खड्काले बताए ।
‘गत २५ चैतको बैठकले अध्यक्षलाई बर्खास्त गर्ने निर्णय गरेको थियो तर २७ चैतमा मात्रै हामीले निर्णय सार्वजनिक गरेका थियौँ । यो समूहले गरेको होइन कि पदाधिकारी सहित बहुमत सदस्यले गरेको निर्णय थियो । तर हिजो उहाँले आफ्ना गल्ती महसुस गर्नुभयो । देशभरका सदस्य साथीहरुले पनि यो समय फुटेर होइन जुटेर जानुपर्छ भन्ने सुझाव दिनुभयो । त्यसैले हिजो हामी संगै बसेर नयाँ निर्णय गरेका हौँ,’बरिष्ठ उपाध्यक्ष खड्काले भने ।
उपाध्यक्ष खड्काले आज देखि ३ जेठसम्म नयाँ सदस्यता दर्ता खुलेको जानकारी दिए । ‘नेपाल स्वास्थ्य व्यावसायी परिषद्मा दर्ता भएका हेल्थ असिस्टेन्टहरु सदस्य भएमा मताधिकार पाउनेछन्,’ उनले भने ।
बैठकले महासचिव देखि तलसम्मको पदमा खुल्ला उम्मेदवार दिन सक्ने र त्यसभन्दा माथिको पदमा पदाधिकारीहरुले मात्रै उम्मेद्धार बन्न सक्ने निर्णय गरेको छ ।
नेपालमा अहिले करीब ४ हजार हेल्थ असिस्टेन्ट छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com