चीनमा पास भएका ११० जना विशेषज्ञ डाक्टर नेपालमा फेल ?

काठमाडौँ, २९ फागुन । चीनबाट चिकित्साशास्त्रमा एमडी/एमएस/एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन्  । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि गत साता लिएको विशेष परीक्षामा चीनबाट अध्ययन पुरा गरी लाइसेन्स परीक्षामा ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन्  ।

नतिजा बिग्रदै गएपछि काउन्सिलले चीनमा विद्यार्थी पठाउँदा ध्यान दिन सुझाव दिएको छ । उसले चीनका सरकारी विश्वविद्यालयमा समस्या नरहे पनि निजीमा अध्ययनका लागि जाने विद्यार्थीहरुमा समस्या देखिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बताएको छ ।

गत साता भएको लाइसेन्स परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा पढेर आएका विशेषज्ञ डाक्टर सहभागी भएका थिए । ती मध्ये ४० प्रतिशत फेल भएका थिए ।

स्रोतका अनुसार फिलिपिन्सबाट चिकित्साशास्त्रमा स्नातकोत्तर गरेका ४७ डाक्टर परीक्षामा बसेकामा १८ जना अर्थात् ३८.२ प्रतिशत फेल भए । किर्गिस्तानबाट पढेका ११ मध्ये ९ जना (८१.८ प्रतिशत) डाक्टर फेल भए ।

छिमेकी मुलुक भारतका २३ मध्ये २ (८.६ प्रतिशत), पाकिस्तानका ९ मध्ये १ (११ प्रतिशत) डाक्टर फेल भए भने बेलारुस, दक्षिण कोरियाबाट पढेर आएका एक–एक जना सहभागी भए पनि पास हुन सकेनन् ।

रुसी महासंघबाट पढेर आएका २ मध्ये एक जना पास भए भने अर्का फेल भएका छन् ।

बेलायत, अमेरिका, जापानबाट पढेर आएका एक–एक जना सहभागी भएकामा सबै पास भए ।

नेपालको मेडिकल कलेजबाट स्नातकोत्तर गरेका १ सय २१ जना परीक्षामा सहभागी भएकामा ३ जना अर्थात् २.४ प्रतिसतमात्र फेल भए । गत साता लिइएको यो विशेष परीक्षामा सरिक ३ सय ६८ मध्ये १ सय ४६ जना फेल र २ सय २२ जना पास भएका हुन् ।

फेल भएका यी चिकित्सकले विशेषज्ञको हैसियतले मुलुकमा काम गर्न पुनः ४ महिनापछि लिइने लाइसेन्स परीक्षा उत्तीर्ण हुनुपर्छ । केही वर्षयता काउन्सिलले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति दिन लिने लाइसेन्स परीक्षामा सहभागी एमबीबीएसरबीडीएस गरेकासमेत करिब आधाजति डाक्टरहरू फेल भइरहेका छन् ।

मुलुकभर काउन्सिलमा दर्ता चिकित्सक करिब २३ हजार छन् । यीमध्ये करिब ७ हजार विशेषज्ञ चिकित्सकका रूपमा दर्ता छन् ।

रेडियोलोजीमा सबैभन्दा बढी फेल
नेपाल मेडिकल काउन्सिलद्वारा लिइएको विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सबैभन्दा बढी रेडियोलोजी र त्यसपछि इन्टरनल मेडिसिनका डाक्टरहरू फेल भएका छन् ।

स्नातकोत्तरमा रेडियोलोजी पढेका ४९ जना विशेषज्ञ डाक्टर विशेष परीक्षामा संलग्न भए पनि ३७ जना अर्थात् ७५.५ प्रतिशत फेल भए ।

यस्तै इन्टरनल मेडिसिन पढेका ७१ डाक्टर परीक्षामा संलग्न भए पनि ४३ जना (६० प्रतिशत) फेल भएका थिए । पेडियाट्रिक्स पढेका २८ डाक्टरमध्ये १२ जना (४२.८ प्रतिशत) फेल भए । जनरल सर्जरीमा ३१ मध्ये १२ (३९ प्रतिशत) तथा अर्थोपेडिक्सका १८ मध्ये ७ (३८.८ प्रतिशत) फेल भए ।

  • आजको कान्तिपुरका लागि अतुल मिश्रले तयार पारेको समाचार ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चीनमा पास भएका ११० जना विशेषज्ञ डाक्टर नेपालमा फेल ?

  1. Nepal ko private medical College Bata total Kati fail bhaye…. Tyo pani thaha pauna payeko bhayo ramro hunthiyo ki?

Leave a Reply to Abhi Cancel reply

Your email address will not be published. Required fields are marked *