‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले किन खुशी दिएन ?’

फाइल तस्विर

काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।समितिले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समस्या समाधानका लागि विशेष पहल गर्न आग्रह गरेको छ ।

यसअघि आजै समितिलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको भनिएको समस्याबारे अध्ययन अनुसन्धान गरि प्रतिवेदन पेश गर्न गठन गरिएको उपसमितिले प्रतिवेदन बुझाएको थियो । सांसद खगराज अधिकारी संयोजक रहेको सो उपसचितिले स्थलगत अध्ययन, सरोकारवालाबीच छलफल गरी तयार पारेको प्रतिवेदन बुझाएको छ ।

‘प्रतिष्ठान खुलेपछि त्यहाँका जनता खुशी हुनुपर्ने हो । उपचार सेवा स्तरीय हुनुपर्ने हो तर त्यस्तो भएन । आन्दोलन हुन थाल्यो । त्यस क्षेत्रका माननीयहरुले लिखित रुपमा समिति समक्ष यसलाई समाधान गर्न भन्दै आग्रह गर्नुभयो । त्यसपछि हामीले यो विषय उठाएका हौँ,’ शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले भनिन् ।

उनले प्रतिष्ठानको सिनेट बैठकले गरेका कुरा, ऐन विपरित भर्ना गरिएका कर्मचारीको बदर गर्नेे कुरा, पोषणगृह हटाएर क्वाटर बनाउने कुरा, आवश्यक जनशक्ति तथा पूर्वाधार निर्माणमा जोड दिने कुरा लगायतका विभिन्न विषयमा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको बताइन ।

प्रतिष्ठान गठन भए देखि नै लफडा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भए देखि नै लफडामा परेको छ । पदाधिकारी नियुक्ति देखि अस्पताल हस्तान्तरण गर्ने विषयमा देखिएको विवादले प्रतिष्ठानले थप गति लिन सकेको छैन् ।

अघिल्लो सरकारले प्रतिष्ठानको उपकुलपति डा. संगिता भण्डारीलाई नियुक्त गरेको थियो । पछिल्लो सरकारले निर्वाचन आचार संहिताका बेला नियुक्त भएको भन्दै उनलाई हटाउने निर्णय गरेको थियो तर सर्बोच्च अदालतले सरकारी निर्णयको विपक्षमा अन्तरिम आदेश दियो । त्यसपछि उनी प्रतिष्ठानमा उनी हावी हुँदै आएकी छन् ।

अस्पताल भाग्ने विषयमा उनले हतार गर्दा ठुलो विवाद उत्पन्न भएको थियो । अस्पताल गाभि सकेपछि पुराना कर्मचारीलाई नलिई नयाँ करारका कर्मचारीलाई लिन थालेपछि पुन अर्को लफडा भएको थियो । कर्मचारीहरुले प्रतिष्ठानको सो निर्णय विरुद्ध माघको सुरु देखि २४ दिनसम्म अस्पताल नै बन्द गरेर आन्दोलन गरे ।

पछि स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव सहितको टोलीले बार्ता गरी अस्थायी रुपमा समस्या समाधान गरेको थियो ।
आजको बैठकमा बोल्ने अधिकांश सांसदहरुले उपकुलपति डा भण्डारीको कार्यशैली माथि प्रश्न उठाएका थिए । उनीहरुले भण्डारीलाई उपकुलपतिबाट बर्खास्त गर्न समेत माग गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *