राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि मेदन्ता लगिने
काठमाडौँ, ८ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको दिल्ली लगिने भएको छ । भोलि ( बुधबार) अपरान्ह ५ बजे जेट एयरको नियमित उडानबाट उनलाई दिल्ली लगिने भएको हो । उनको दिल्लीस्थित मेदन्ता अस्पतालमा थप उपचार गरिने बताइएको छ ।
९९ बर्षीय राष्ट्रकवि घिमिरेको अहिले धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रकविकी छोरी उषा अधिकारीले दिल्ली लैजाने तयारी अनुरुप जेट एयरको टिकट काटिसकिएको बताइन् । उनले ग्राण्डी र मेदन्ताबीचको केही रिफरका प्रक्रिया भने बाँकी रहेको जानकारी दिइन ।
‘पछिल्लो केही महिनादेखि अस्पताल आउने जाने भइरहेको राष्ट्रकवि घिमिरेको पछिल्लो पटक आन्तरिक रक्तश्रावको समस्या देखापरेको छ । रक्तश्रावको कारण हेमोग्लोविन कम भएपछि चिकित्सकहरुले हिजो एक युनिट रगत चडाएका थिए । हिजो त एक पोइन्ट रगत दिएर मेन्टेन गरियो । आज झन् हेमोग्लोविन झन बढी ड्रप भएको छ,’ डाक्टरलाई उदृत गर्दै छोरी उषाले भनिन् ।
नेपाली सेनाका मानार्थ सहायक रथी समेत रहेका राष्ट्रकवि घिमिरेलाई दिल्ली लैजाने र उपचारमा सहयोग पुरयाउन नेपाली सेनाले नै छुट्टै चिकित्सक समेत उपलव्ध गराएको छ ।
‘नेपाली सेनाले उपलव्ध गराएको चिकित्सककै निगरानीमा उहाँलाई दिल्ली लगिने हो । प्लेनमा अक्सिजन लगायतका आवश्यक प्रिकसनका लागि एयरलाइन्ससंग उहाँहरुले नै समन्वय गर्नु भएको छ,’ छोरी उषाले भनिन् ।
सम्पर्क इमेल : [email protected]