स्थानीय निकायका लागि स्वास्थ्यले माग्यो १८९६ वटा दरबन्दी
काठमाडौँ, २४ बैशाख । स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा स्वास्थ्यका कार्यक्रम प्रभावकारी बनाउन १ हजार ८९६ दरबन्दी माग गरेको छ । सरकारले यसअघि स्थानीय तहका लागि भन्दै स्वास्थ्यसेवा अन्तरर्गत विभिन्न तहका ५८६ जनाको दरबन्दी मात्रै स्वीकृत गरेको थियो ।
अझ जनसंख्याको अनुपातमा दरबन्दी बाँढफाँड गर्दा ३३४ वटा स्थानीय निकायमा स्वास्थ्यका कर्मचारी सून्य समेत भएको थियो ।
मन्त्रालय संघीयता कार्यान्वनय इकाईका प्रमुख मोहम्मद दाउदले हरेक निकायमा स्वास्थ्य सेवाका कर्मचारी पुरयाउन थप दरबन्दी माग गरेको बताए । उनले सबैभन्दा कम जनसंख्या भएको गाँउ पालिकामा कम्तीमा २ जना र बढी जनसंख्या भएको महानगरपालिकामा ६ जनासम्मको माग गरिएको बताए । माग गरिएका दरबन्दीहरु पाँचौ तह देखि दशौँ तहसम्मका छन् ।
दाउदका अनुसार स्थानीय निकायका लागि भनेर नवौँ र दशौँ तहका १७ जना, सातौँ र आठौँ तहका ७५३ जना जना र बाँकी ११२६ जना पाँचौँ छैटौँ र सातौँ तहका कर्मचारी माग गरिएको छ ।
‘स्वास्थ्यका कार्यक्रम सम्वेदनशील तर कतिपय स्थानीय निकायमा स्वास्थ्यसेवाका कर्मचारी विहीन हुने अवस्था आएपछि मुख्य सचिव, सामान्य प्रशासन मन्त्रालयका अधिकारी, संघीयता कार्यान्वनय कार्यदल लगायतका विभिन्न निकायमा छलफल पछि यो प्रस्ताव पठाएका हौँ । यसको पनि अन्तिम निर्णय भने भइसकेको छैन,’ दाउले भने ।
सम्पर्क इमेल : [email protected]