मृतकका आफन्त र अस्पतालबीच बार्ता, स्वास्थ्यको छानवीन टोली विरुद्ध नाराबाजी

काठमाडौँ, २९ भदौ । हिजो भएको बिरामी मृत्यु प्रकरणको विषयमा ओम अस्पतालमा मृतकका आफन्त र अस्पताल पक्षबीच बार्ता शुरु भएको छ । सरकारी छानवीन समिति अस्पतालबाट फिर्ता भएपछि मृतकका आफन्त र अस्पताल पक्षबीच बार्ता शुरु भएको हो ।

त्यसअघि सरकारी छानवीन बहिस्कार गर्दै मृतकका आफन्त पक्षले उनीहरु विरुद्ध नाराबाजी गरेका थिए । सरकारी टोली सदस्यहरु मृतकका आफन्तहरुसंग गैरजिम्मेबार ढंगले प्रस्तुत भएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए ।

‘हातै हालाहालको अवस्था होला जस्तो भयो । त्यसैले हामीले उहाँहरुलाई धपायौँ ,’  मृतकका तर्फबाट बार्ताको संयोजक बनेका निजामति कर्मचारी युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गोपाल पोखरेलले भने, ‘स्वास्थ्य मन्त्रालयको छानवीन टोलीलाई हामीले मान्दैनौँ । उनीहरुले दिने प्रतिवेदन अस्विकार गर्ने घोषणा गरिसक्यौँ ।’

एक आफन्तका अनुसार सरकारी बार्ता टोलीले मृतकका आफन्तसंग मृत्युको प्रकरणलाई हासीमजाकको रुपमा प्रस्तुत भएपछि उनीहरु आक्रोशित भएका हुन् ।

साढे दुईबजेबाट शुरु भएको बार्तामा अस्पतालका तर्फबाट डा भोला रिजाल, डा आनन्द श्रेष्ठ तथा चण्डी ढकाल लगायतको टोली सहभागी छ । यता मृतक पक्षको नेतृत्व पोखरेलले गरेका छन् ।

मृतकका छोराछोरीको भरणपोषण र दोषीलाई कारबाही मुख्य माग


पीडित पक्षले अस्पताल प्रशासनसंग मृतक कमला भट्टराईको दुई जना सन्तानको भरण पोषण अस्पतालले गरिदिनुपर्ने र उच्चस्तरीय छानवीन गरी उपचारमा सम्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मी माथि कारबाही गर्नुपर्ने माग राखेका छन् ।

सोही मागको विषयमा छलफल गर्न यतिवेला अस्पताल प्रशासन पुन समय मागेर आधिकारिक धारणा बनाउन छुट्टै छलफलमा बसेको अस्पताल स्रोतले बतायो ।

माग पुरा नहुँदासम्म ओपिडी खोल्न नपाइने
पिडीत पक्षले आफूहरुका माग पुरा नहुँदासम्म ओपिडी सेवा बन्द गर्नुपर्ने अर्को माग समेत थपेका छन् । अस्पताल प्रशासन त्यसमा भने सहमत जस्तै भएको छ ।

उसले अर्को सूचना ननिकाल्दासम्मका लागि भन्दै अनिश्चित कालिन ओपिडी बन्दको घोषणा गरिसकेको छ ।गतशनिबार नाकको अप्रेशन गरिएकी ४० बर्षिया कमला भट्टराईको हिजो निधन भएको थियो ।

छानवीन चलिरहेको छ मन्त्रालय

यता ओम अस्पताल घटनाको छानवीन गर्न स्वास्थ्य मन्त्रालयद्धारा गठित समितिले छानवीन अघि बढेको बताएको छ । ‘आजबाट हामीले काम शुरु गरयौँ । यो जारी नसकिँदासम्म जारी रहन्छ,’  सरकारी टोली सदस्य डा विकास देवकोटाले बताए ।

पीडीत पक्षले अस्विकार गरेको सन्दर्भमा भने डा देवकोटाले पिडीत पक्षले के भने भन्दा पनि छानवीन ठूलो कुरा भएको भन्दै आफूहरु त्यसमा लागि रहेको प्रतिक्रिया दिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *