डा . केसीलाई नहरेको भन्दै गोदानको आपत्ति, त्यसकै विरोधमा भोलिदेखि कालोपट्टी ?
काठमाडौँ, २४ साउन । अनसनरत डा गोविन्द केसीको मागमा सरकारले वेवास्ता गरेको भन्दै सरकारी चिकित्सक संघ नेपाल गोदानले आपत्ति प्रकट गरेको छ ।
उसले डा केसीको समर्थन र सरकारमाथि दवाव सिर्जना गर्न भोलि देखि हातमा कालोपट्टी बाँधेर काममा जाने र त्यसले पनि नभए आकस्मिक बाहेकका सेवा बहिस्कार गर्नेम्मको योजना अघि सारेको छ ।
गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेद्धारा मंगलबार जारी विज्ञप्तीमा डा केसीले चिकित्सा शिक्षा सुधारका लागि ज्यान नै दाउमा लगाएर अनसन बसेको सरकारले तत्काल केसीका माग सम्वोधन गरी जीवन रक्षा गर्न समेत माग गरिएको छ ।
हेरौँ गोदानको विज्ञप्ती
नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने अधिकांश संस्थाहरुको स्थापना सरकारी तवरबाट भई जेहेन्दार बिध्यार्थीहरुले सर्वसुलभ रुपमा अध्ययन गर्न सक्ने वातावरण बन्नुपर्छ भन्ने लगायतका मागहरु सहित आमरण अनशनमा बस्नुभएका आदरणीय प्राध्यापक गोविन्द केसीको कदम प्रति गोदानको तर्फबाट एक्येबद्दता जाहेर गर्दछौं । डा. केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत र काम गर्न कबुल गरेका चिकित्सकहरुलाई थप प्रोत्साहन हुने गरी नीति निर्माण गर्न समेत बल पुग्ने अपेक्षा आम नागरिकमा रहेको छ।
चिकित्सा शिक्षा व्यवस्थित गर्न र सम्पूर्ण नागरिकको संविधान प्रदत्त स्वास्थ अधिकारको रक्षा गर्नका लागि अनवरत रुपमा लडिरहनु भएका डा गोबिन्द केसिको ११ औं अनसनको आज १६ औं दिन भइसक्दा समेत राज्यपक्षबाट कुनै ठोस कदम नचालेको र डा केसिको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भइसकेको अवस्थामा डा केसिको जीवनरक्षार्थ सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौं। सरकारको यस वेवास्ताको घोर निन्दा गर्दै नेपाल भरिका सरकारी स्वास्थ संस्थामा दबाबमूलक विरोधका कार्यक्रम गर्ने जानकारी गराउदछौं।
भोलि २०७४।०४ ।२५ गते बाट देश भरि कार्यरत सम्पूर्ण सरकारी चिकित्सकहरु हातमा कालो पट्टि बाधेर काम गर्नुहुन आग्रह गर्दछौं।
साथै डा केसिको जीवनरक्षाका लागि ठोस कदम पहल नभए सरकारी अस्पतालहरुबाटआकस्मिक बाहेकका सम्पूर्ण सुविधाहरु बन्द गर्न संघ बाध्य हुने कुरा नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराउन चाहन्छौं।
सम्पर्क इमेल : [email protected]