चिकित्सकले राजिनामा दिएपछि जिल्ला अस्पतालको जटिल प्रसूति सेवा ठप्प

0
Shares

रोल्पा, २२ साउन । सेवा दिँदै आएका चिकित्सकले राजीनामा दिएर गएपछि लामो समयदेखि ठप्प रहेको जिल्ला अस्पताल रेउघा रोल्पाको जटिल प्रसूति सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।

जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भए पनि तालीम प्राप्त चिकित्सक नहुँदा गत वैशाख अन्तिम सातादेखि सेवा ठप्प भएको थियो ।  सो अस्पतालका एकमात्र तालीम प्राप्त चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो ।

अस्पतालमा तालीम प्राप्त चिकित्सक नहुँदा जटिल प्रसूति शल्यक्रिया सेवा लिन आएका सेवाग्राहीलाई प्यूठान, दाङलगायतका जिल्लामा सिफारिस गरी पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी हेमराज पौडेलले जानकारी दिए ।

सेवालाई निरन्तरता दिन दुईजना चिकित्सकको व्यवस्था गर्न लागिएको पौडेलले बताए । एकजनाले तालीम लिएर आइसकेको र अर्को चिकित्सक भर्ना गर्ने गरी विज्ञापनसमेत गरिसकेका छौँ, पौडेलले भने ।

यसअघि नयाँ चिकित्सक भर्ना गर्ने भनी खोलिएको विज्ञापनमा भने कसैको दर्खास्त परेको थिएन । नयाँ आवको सुरुवातपछि बजेटको समेत सुनिश्चितता भएकाले नयाँ चिकित्सक भर्ना हुनेमा आफू आशावादी रहेको पौडेलले बताए ।

जिल्ला अस्पताल रेउघा रोल्पाले २०७१ साल फागुनबाट जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरेको थियो । हाल शल्यक्रिया गरिने कोठामा ताल्चा लागेको छ भने सेवा लिन आउने बिरामी महँगो शुल्क तिरेर एम्बुलेन्स तथा निजी सवारीसाधन प्रयोग गरी दाङ, प्यूठान, बुटवल, नेपालगञ्ज जान बाध्य भएका छन् । रासस ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *