नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने ज्ञान अझै छैन

152
Shares

काठमाडौँ, १९ साउन । ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन ।

सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ । एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण अहिले पनि आमाहरुले आफ्ना शिशुलाई अकालमा गुमाइरहेका छन् ।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्याङ्कका अनुसार अझै पनि ४५ प्रतिशत महिलाले जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्कोतर्फ दुई वर्षभित्र पूर्ण स्तपान गराउनेको सङ्ख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन ।

यसैगरी, एक महिनासम्म ७९, दुईदेखि तीन महिनासम्म ७२, चारदेखि पाँच महिनासम्म ४० प्रतिशत र ६ देखि आठ महिनासम्म ६ प्रतिशत आमाले मात्र स्तनपान गराउने गरेको महाशाखाले जनाएको छ ।

नेपालमा स्तनपान प्रवद्र्धनका लागि चेतनामूलक कार्यक्रम साताव्यापी रुपमा मनाउन शुरु भएको २५ वर्ष बितिसक्यो तर यस क्षेत्रामा उल्लेख्य प्रगति देखिएको छैन । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्त ग्रामीण क्षेत्रमा जनचेतनाको अभाव र शहरी क्षेत्रमा स्तनपानको विकल्पमा अन्य दूधको प्रयोग हुने गरेको बताछन् ।

उनी भन्छन्, “नवजात शिशुलाई आमाको बिगौती दूध बराबरको पोषण अरू केही हुन नै सक्दैन, एक वर्षसम्म यसको विकल्पमा अरू दूध प्रयोग गर्नु हुन्न । यसमा विभागले चेतनामूलक तथा अन्य कार्यक्रम जारी राखेको छ ।”

उसो त स्वास्थ्य मन्त्रालयले स्तनपानको प्रवद्र्धन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री तथा नियन्त्रण)ऐन २०४९ तथा नियमावली २०५१ जारी गरेको छ । यसमा आमाको दूधलाई प्रतिस्थापन गर्ने दूध तथा अन्य पदार्थ बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध तथा प्रवद्र्धन गरेमा स्वास्थ्यकर्मीलाई कारबाही समेतको प्रावधान रहेको छ ।

पोषणविद् प्राडा मधु दीक्षित देवकोटा स्तनपानले शिशु र आमा दुवैलाई फाइदा पुग्ने बताउछन् । उनका अनुसार आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै तत्व हुन्छ जसले शिशुको आवश्यक विकास तथा वृद्धिमा सहयोग पु¥याउँदछ ।

उनीभन्छन्, “स्तनपान गराउँदा निस्कने हार्मोनले आमाको तनाव कम गर्न, शिशु जन्मनासाथ छातीमा टाँसेर राख्दा यसले पाठेघर खुम्चिने प्रक्रिया उत्तेजित भई सालनाल निस्कन तथा रक्तस्राव बन्द गराउँदछ ।”

अर्कोतर्फ पूर्ण स्तनपान नपाउँदा बालबालिकामा कुपोषण शिकार हुनुपरिरहेको छ । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)का पोषण विज्ञ प्रद्युम्न दाहाल कुपोषणका कारण बालबालिकामा पुड्कोपन हुने बताउछन् ।

यसैबीच, ‘सबै मिली स्तनपानलाई दिगो बनाऔँ’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व स्तनपान दिवस मनाउन शुरु गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *