पोखरा लेखनाथको ३३ नम्बर वडालाई पूर्णखोप सुनिश्चित प्रमाणपत्र

कास्की १९ साउन । पोखरा लेखनाथ महानगरपालिका ३३ भरतपोखरी पूर्ण खोप सुनिश्चित वडा घोषित भएको छ । तोकिएको मापदण्ड पुरा गरेपछि भरतपोखरी पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको हो ।
बुधबार आयोजित कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रमाणपत्र हस्तान्तरण गरी सुनिश्चित घोषणा गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर जिसीले पोखरा लेखनाथलाई प्रविधि मैत्री महानगरपालिका बनाउने खोप लगायत स्वास्थ्यका सम्पूर्ण सूचनालाई अनलाईन मार्फत अभिलेख राख्ने योजना गरेको बताए ।
जिल्ला जनस्वास्थ्य कास्कीका प्रमुख दिनेशकुमार चापागाईले पूर्ण खोप अभियानले अन्त नभई सुरुवात भएको भन्दै यसलाई निरन्तरता दिइने बताए ।
वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका का स्वास्थ्य संयोजक श्री हेमन्त शर्मा, पश्चिमांचल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्री रमेश बराकोटी, राजनैतिक दलको तर्फबाट ने.क.पा. एमालेका गुरु प्रसाद क्रान्तिकारी, छिमेकी स्वास्थ्य संस्थाका तर्फबाट शिशुवा अस्पतालका जनस्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद पौडेल, समाजसेवीको तर्फबाट यज्ञ प्रसाद अधिकारी, महिला स्वास्थ्य स्वयं सेविका डिल कुमारी काफ्लेले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले पूर्णखोपको औचित्य, आवश्यकता र महत्व माथि प्रकाश पारेका थिए ।
सो कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख गोकर्ण सापकोटाले पूर्णखोपको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविका र खोप कार्यमा संलग्न स्वास्थ्यकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
बाजा गाजा र प्लेकार्ड प्रदर्शन सहित शुरु भएको कार्यक्रम घोषणा सभामा परिणत भएको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



