महिला तथा बालबालिकालाई लक्षित गरी अस्पताल सञ्चालन
पोखरा, १४ साउन । महिला एवं बालबालिकाको उपचारलाई लक्षित गरी पोखरामा आजदेखि अन्नपूर्ण बाल तथा महिला अस्पताल प्रालि सञ्चालनमा आएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१० शिव चोकमा स्वास्थ्य क्षेत्रमा आबद्ध १५ जनाको लगभग रु पाँच करोडको लगानीमा सञ्चालनमा ल्याइएको हो । चौबिसै घण्टा सञ्चालन गरिने अस्पतालमा पाँच आइसियु, पाँच एनआइसियु र दुई पिआइसियु सेवासहित २५ श्यया रहेको सञ्चालक समितिका अध्यक्ष डा सुशील ढुङ्गेलले जानकारी दिए।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालको आज एक समारोहका बीच उद्घाटन गर्दै अस्पतालले यस क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।
वडाध्यक्ष राजकुमार गुरुङले स्वास्थ्य क्षेत्रमा विशिष्टिकृत सेवा आवश्यक हुँदै गएको बताउँदै महिला तथा बालबालिकालाई लक्षित गरी सञ्चालनमा आएको अस्पतालबाट सबै लाभान्वित हुने बताए ।
जनतालाई राज्यले तोकेको सेवा सुविधा प्रदान गर्नुका साथै भविष्यमा मुटुरोग केन्द्र सञ्चालन गर्ने अस्पतालको लक्ष्य रहेको सञ्चालक समितिका सचिव मणि न्यौपानेले बताए ।
समाजसेवी भरत केसी, महिला समन्वय समितिकी संयोजक निमा कार्कीलगायतले अस्पताल सञ्चालनसँगै सर्वसाधारणले सर्वसुलभ एवम् गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
अस्पताल शुभारम्भका अवसरमा आज अस्पताल परिसरमा रक्तदान आयोजना गरिएको छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



