सेनाले उद्धार गरी काठमाडौँ ल्याएको आधा घण्टामै जन्मियो बच्चा

काठमाडौँ, ३ साउन । नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौँ ल्याइएकी रोल्पा थवाङकी गर्भवती महिला बरमाया विकले सन्तान जन्माएकी छन् । थापाथलीस्थित प्रसूतिगृह अस्पतालमा आज अपरान्ह सन्तान जन्माएकी हुन् ।

तीन दिन देखि सुत्केरी हुन नसकेकी विकलाई गृहमन्त्री जनादर्न शर्माको निर्देशनमा नेपाली सेनाले आज हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइपुरयाएको थियो । अस्पताल ल्याइपुरयाएको आधा घण्टामै विकले छोरा जन्माएकी हुन् ।

प्रसूतिगृह अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले विकको नर्मल डेलिभरी भएको र आमा र बच्चाको अवस्था सामान्य रहेको बताए । उनले  नवजात शिशुको तौल साढे २ केजी रहेको जानकारी दिए । थवाङ १ की २६ बर्षीया विक गत आइतबार बेलुकाबाट सुत्केरी ब्यथाले छट्पटिएकी थिइन् ।

स्थानीय थवाङ सामुदायिक अस्पतालमा सुत्केरी गराउन नसकेपछि स्वास्थ्यकर्मीले कोहलपुर वा काठमाडौँ लैजान रिफर गरेका थिए । तर गाडी चडने ठाँउसम्म आइपुग्नै एक दिन लाग्ने अवस्थामा रिफर समेत सम्भव थिएन ।

सुत्केरी हुन नसकी छटपटिएको थाहा पाएपछि गृहमन्त्री शर्माले तत्काल गर्भवतीलाई उद्धार गरी काठमाडौँ ल्याउन निर्देशन दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *