मनमोहनको मिर्गौला काण्ड : छानवीन समितिले काम थाल्यो

काठमाडौँ, ३ साउन । बिबादित बनेको मनमोहन अस्पतालको मिर्गौला काण्डको छानवीन गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले आजबाट काम थालेको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीको संयोजकत्वमा गठित समितिले आजबाट काम थालेको हो ।

समिति आज पिडकको आरोप लागेको मनमोहन अस्पतालमा पुगी उपचारमा सहभागी चिकित्सक, अस्पताल प्रशासन तथा अन्य स्वास्थ्यकर्मीसंग बयान लिएको छ । त्यस्तै उपचार प्रक्रिया र मिर्गौला झिक्नुपर्नाको कारण लिखित रुपमा पेश गर्न निर्देशन दिएको छ ।

‘हाम्रो टोलीले आज मनमोहन पुगेर घटनाको बारेमा सत्यतथ्य बुझ्ने काम गरयो । अव पिडीत भनिएका व्यक्तिलाई पनि भेटदै छौँ । त्यसपछि बल्ल निस्कर्ष निकाल्न सकिएला,’ समिति संयोजक डा चौधरीले भनिन् । उनले समितिले एक साता भित्र प्रारम्भिक प्रतिवेदन दिनसक्ने बताइन ।

मिर्गौलामा पत्थरी भई शल्यक्रियाका लागि भन्दै मनमोहन अस्पताल पुगेका विदुर नगरपालिका १२ का शिब प्रसाद रिमालको मिर्गौला झिकिएको भन्दै परिवारले आन्दोलन गरेको थियो । यही विषयमा संसदमा समेत कुरा उठेपछि मन्त्रालयले डा चौधरीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको हो ।

छानवीन समितिमा डा चौधरीको नेतृत्वमा मन्त्रालयका सहसचिव सनत केसी, मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ, उपसचिव भवनाथ खतिवडा, वीर अस्पतालका युरोलोजिष्ट डा अनिल श्रेष्ठ, नेपाल चिकित्सक संघका तर्फबाट डा ढुण्डीराज पौडेल, मन्त्रालयका कानुन शाखाका उपसचिव शम्भु रेग्मी र शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य रहेका छन् ।

समितिको सदस्यसचिव चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठ छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *