डब्बामा किन सुत्छन् फिनलण्डका शिशु ?

बीबीसी १ जेठ ।  ७५ वर्षदेखि फिनलण्डका गर्भवती महिलालाई सरकारले एउटा कार्डबोर्डको डब्बा दिने गरेको छ। त्यो डब्बामा बालबालिकालागि केही लुगा, कपडा र खेलौना हुन्छन र त्यसलाई ओछ्यानका रुपमा पनि प्रयोग गर्न सकिन्छ। र त्यस्तो डब्बालाई केहीले फिनलण्डको बालमृत्युदर संसारकै सबभन्दा कममध्येको एक हुनुको एक कारण पनि मान्दछन्।

सन् १९३० को दशकमा शुरु गरिएको त्यो परम्पराले जुनसुकै पृष्ठभूमिका भएपनि फिनलण्डका सबै बालबालिकालाई जीवनमा समान शुरुवात दिने लक्ष्य राख्दछ। सरकारले उपहारका रुपमा दिने सो मातृत्व प्याकेज सबै गर्भवती महिलालाई उपलब्ध हुन्छ।

त्यस डब्बामा शिशुले लगाउने लुगा, स्लीपिङ ब्याग, बाहिर जाँदा चाहिने सामान, नुहाउने सामान, डायपर, एउटा सानो विछ्यौना, ओढ्ने सामान हुन्छन्।  डब्बाको सबभन्दा तल गद्दा राखिएपछि त्यसले कोक्रोको रुपमा लिन्छ र शिशुको पहिलो ओछ्यान बन्छ।

सबै सामाजिक पृष्ठभूमिका धेरै शिशु त्यही कार्डबोर्डको डब्बाको सुरक्षित चार घेराभित्र पहिलोपटक निदाउने गर्दछन्। आमाहरुले त्यो डब्बा वा त्यसको सट्टामा पैसा (हाल १४० युरो) लिन सक्छन्, तर त्यो डब्बाको मूल्य बढी भएकाले ९५ प्रतिशतले डब्बा नै लिने गर्दछन्।

त्यो परम्परा सन् १९३८ मा शुरु गरिएको थियो। शुरुमा त्यो कार्यक्रम न्यून आयश्रोत भएका परिवारलाई मात्रै उपलब्ध थियो। तर सन् १९४९ मा त्यो परिवर्तन भयो।

फिनलण्डको सामाजिक बीमा संस्था केलाकी एक अधिकारी हेइडी लीसिभेसी भन्छिन्, ‘त्यस समय देखि त्यो सुविधा सबै गर्भवती महिलालाई दिन थालियो।’

‘त्यति मात्रै होइन, नयाँ कानुन अनुसार उनीहरुले त्यो अनुदान वा डब्बा पाउनका लागि गर्भावस्थाको चौथो महिनामा चिकित्सककोमा वा नगरपालिकाको स्वास्थ्य केन्द्रमा जानुपर्ने भयो।’

त्यो डब्बाले महिलालाई शिशुको हेरविचार गर्न आवश्यक सामग्री मात्रै दिएन, गर्भवती महिलालाई फिनलण्डको भर्खरै शुरु भएको कल्याणकारी राज्यका चिकित्सक र स्वास्थ्यकर्मीतर्फ लैजान मद्दत पनि गर्यो।

सन् १९३० को दशमा फिनलण्ड विपन्न थियो र त्यहाँको बालमृत्युदर उच्च थियो ( प्रत्येक १,००० शिशु मध्ये ६५ बाँच्दैनथे)। तर त्यसपछिका दशकमा त्यो आँकडामा चाँडै सुधार भयो।

हेलसिन्कीस्थित राष्ट्रिय स्वास्थ्य र कल्याण संस्थाकी प्रोफेसर मिका गिस्लरले त्यसका लागि विभिन्न कारण दिएकी छिन्। उनी भन्छिन्, ‘सन् १९४० को दशकमा सबै महिलालाई उपलब्ध गराइएको मातृत्व प्याकेज र गर्भवती अवस्थामा स्वास्थ्य सेवा, र सन् १९६० को दशकमा राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली र केन्द्रिय अस्पताल सञ्जाल, त्यस्ता केही कारण हुन्।’

७५ वर्ष पुरानो त्यो डब्बाको प्रचलन हाल फिनलण्डमा मातृत्वको स्थापित परम्परा भइसकेको छ, जसले विभिन्न पुस्ताका महिलालाई एक बनाएको छ। हेलसिन्कीकी ४९ वर्षीया रेइजा क्लेमेटी आफ्ना ६ सन्तान मध्ये एकका लागि त्यस्तो डब्बा लिन हुलाक कार्यालय गएको सम्झिन्छिन्। ‘त्यो डब्बा लिन जानु एकदम रमाइलो थियो, र त्यो बच्चाको लागि पहिलो वाचा जस्तो पनि थियो,’ उनी भन्छिन्।

‘त्यहाँ भित्र के के छन् र त्यो वर्ष उनीहरुले कस्ता कस्ता रंग छानेका छन् भनेर हेर्न मेरी आमा, साथीहरु र नातेदार सबै उत्सुक थिए।’ उनकी ७८ वर्षीया सासुले सन् १९६० को दशकमा पहिलो बच्चा जन्माउँदा त्यो डब्बामा निकै भर परेकी थिइन्। त्यतिबेला उनलाई के के चाहिन्छ भनेर थाहा थिएन, तर चाहिने जति सबै कुरा दिइएको थियो।

हालसालै क्लेमेटीकी २३ वर्षीया छोरी सोल्जाले पनि बच्चा पाउनुभन्दा अघि त्यस्तो डब्बा लिन जाँदा आफ्नी आमालाई झैं रमाइलो लागेको र उत्सुक भएको बताइन्। अहिले उनका दुइ छोराछोरी छन्।

‘बच्चा कुन सालमा जन्मेको हो त्यो थाहा पाउन सजिलो हुन्छ, किनकी प्रत्येक वर्ष त्यो डब्बाका लुगा अलि अलि फरक हुन्छ।
अर्को बालकलाई देखेर मेरो बच्चा संगै जन्मेको हो भनेर तुलना गर्नु रमाइलो हुन्छ,’ दुइ साना छोराकी आमा ३५ वर्षीया टिट्टा भेइरिनेन भन्छिन्।
ती सामग्री निःशुल्क नभइदिएको भए केही परिवारले ती सामग्री किन्न सक्दैनथे। तर भेइरिनेनलाई त्यो डब्बाले पैसा भन्दा पनि समय जोगाएको थियो।

उनी पहिलोपटक गर्भवती हुँदा दिनमा धेरै घण्टा काम गर्ने गर्थिन् र त्यस्ता सामानको मूल्य तुलना गर्दै किन्ने काम गर्नु नपरेकोमा उनी खुशी थिईन्।

खुशी आमा
‘भर्खरै एउटा प्रतिवेदनले फिनलण्डका आमाहरु संसारकै सबभन्दा खुशी भएको देखाएको छ। र मेरो मनमा त्यही डब्बा आयो।’ हाम्रो केही सुविधाहरु कटाइएतापनि हाम्रो राम्रो रेखदेख गरिन्छ,’ उनी भन्छिन्।

दोस्रो बच्चा इल्मरीलाई पाउँदा भने भेइरिनिनले डब्बा नलिएर पैसा लिएकी थिईन् र आफ्नो पहिलो छोरा आर्नीका लुगाहरु दोस्रो छोरालाई लगाइदिएकी थिईन्। डब्बाका लुगाको रंगले कुनै लिंग नछुट्याउने हुँदा बालक र बालिकाले ती लुगा साटासाट गर्नसक्छन्।

बदलिँदा सामग्री
बदलिंदो समयसंगै त्यो डब्बाका सामग्री पनि निकै परिवर्तन भएका छन्। सन् १९३० र ४० को दशकमा आमाहरुले शिशुका कपडा आफैं बनाउने हुँदा उनीहरुलाई कपडा दिइन्थ्यो। तर दोस्रो विश्वयुद्धको समयमा त्यस्ता कपडा रक्षा मन्त्रालयलाई आवश्यक भएपछि त्यसको साटो कागजको ओछ्याउने सामग्री र शिशुलाई बेर्ने सामग्री दिन थालियो।

सन् १९५० को दशकमा तयारी कपडाको संख्या बढेर गयो भने सन् १९६० र १९७० को दशकमा लुगाहरु नयाँ, तन्किने कपडाबाट बन्न थाले।
सन् १९६८ मा स्लीपिङ ब्याग थपियो र त्यसपछिको वर्षमा एक पटक प्रयोग गरेर फ्याँकिने न्यापी पहिलोपटक दिइयो। तर त्यो धेरै समय टिकेन। वावतावरणलाई हानी पुर्याउने भनिएका फ्याँक्न मिल्ने न्यापीको सट्टामा यो शताब्दीको शुरुवातमा कपडाका न्यापी फिर्ता आएका थिए।

नीतिहरु
शिशुको राम्रो पालनपोषणलाई प्रोत्साहन दिनु शुरुदेखि नै मातृत्व प्याकेजको नीति रहिआएको छ। ‘शिशुहरु बाबुआमासंगै एउटै खाटमा सुत्थे, र त्यसो नगर्ने सल्लाह दिइयो,’ हेल्सिन्की विश्वविद्यालयमा फिनलण्डको इतिहासकी प्रोफेसर पानु पुल्मा भन्छिन्। ‘त्यो डब्बा पनि बाबुआमालाई दिइएपछि मानिसहरुले शिशुहरुलाई छुट्टै सुताउन थाले।’ स्तनपानलाई प्रोत्साहन दिनका लागि कुनै समयमा दुध खुवाउने बोतल दिन छोडिएको थियो।

‘त्यो प्रणालीको एउटा मुख्य उद्देश्य भनेको महिलाहरुलाई बढी स्तनपान गन लगाउनु पनि हो’ पुल्मा भन्छिन्। ‘र त्यस्तो भएको पनि छ।’
त्यसको साथै त्यो डब्बालाई पुल्माले समानताको अवधारणा र बालबालिकाको महत्वको एउटा प्रतीक पनि मान्छिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *