सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौँ, १८ वैशाख । बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुमबासीका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविरमार्फत बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै नागरिकलाई समेटेर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रयास भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको छ ।
रङ्गशालामा आफनो विवरण टिपाउन आउनेहरूलाई त्यहाँ सञ्चिालित स्वास्थ्य सहायता एवं उपचार कक्षमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको हो ।
शुक्रबार ६८ जनाले सेवा लिएको मन्त्रालयले जनाएको छ । कीर्तिपुरमा सञ्चालित अर्को शिविरमा आँखा र दाँतसम्बन्धी सेवा लिनेको सङ्ख्या उल्लेख्य छ ।
दशरथ रङ्गशालास्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन भइरहेको छ । अस्पतालका निर्देशकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली खटिएका छन् ।
यस्तै, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट एक चिकित्सक र एक नर्स, पाटन मानसिक अस्पतालबाट चिकित्सक र नर्स गरी चार जना तथा कान्ति बाल अस्पतालबाट बालरोग विशेषज्ञसहित नर्स खटिएका छन् ।
पाटन मानसिक अस्पतालका डा. वासुदेव कार्कीले मनोसामाजिक परामर्श लिन आउनेलाई परामर्शसँगै आवश्यक औषधि उपलब्ध गराउने काम भइरहेको जानकारी दिए ।
कान्ति बाल अस्पतालका डा. जगरनाथ साहले बालबालिकासम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि आफूहरूसँगै नर्स टोली परिचालित रहेको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार औषधि तथा आवश्यक स्वास्थ्य सामग्री औषधि व्यवस्थापन महाशाखा र स्वास्थ्य सेवा विभागसँग लोजिस्टिक समन्वय भइरहेको छ । कीर्तिपुर क्षेत्रमा वीर अस्पतालले नेतृत्व लिएर सेवा सञ्चालन गरिरहेको छ ।
आज पहिलो दिन भएकाले प्रत्येक सेवामा एक चिकित्सक र एक नर्स राखिएको छ । काठमाडौँ महानगरपालिका, विभाग र मन्त्रालयका स्वास्थ्यकर्मी पनि परिचालित छन् ।
विस्थापित नागरिकलाई बसोबास गुमाउँदा मनोसामाजिक तनाव हुन सक्ने, केहीमा पुराना रोग वा सङ्क्रमण देखिन सक्ने भएकाले प्रारम्भिक पहिचान र उपचारका लागि स्वास्थ्य शिविर महत्त्वपूर्ण भएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

