चौध लाख सोमालियाली बालबालिका जटिल कुपोषणबाट ग्रसित

जेनेभा (स्विट्जरल्यान्ड),२० वैशाख । खडेरी र भोकमरी समस्याले ग्रस्त सोमालियामा यस वर्ष करिब १४ लाख बालबालिका जटिल प्रकारको कुपोषणबाट ग्रसित बनेको राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

यो सङ्ख्या सन् २०१६ को अन्त्यपछि करिब ५० प्रतिशत वृद्धि हो ।

राष्ट्रसङ्घ बालबालिका कोषले सोमालियामा करिब दुई लाख ७५ हजार बालबालिकामा कुनै न कुनै किसिमको कुपाषण देखिएको र यसका कारण उनीहरूले सजिलै ज्यान गुमाउन सक्ने भएका कारण यसप्रति सम्बद्ध सबै पक्षको ध्यान जानुपर्ने चेतावनी दिएको छ ।

जटिल कुपोषण भनेको आँखाले देख्न सकिने खालको पोषणको कमी हो । यस अवस्थामा बालबालिका निकै दुब्लो हुन्छन् र छिट्टै उपचार नपाएमा उनीहरूको मृत्यु पनि हुनसक्छ । “यस्ता बालबालिकामा हैजा, पखाला र ठेउलाजस्ता रोगका कारण मृत्यु हुने बालबालिकाको तुलनामा नौ गुणा बढी मृत्यु हुने सम्भावना रहन्छ” युनिसेफका प्रवक्ता मारिक्सी मेरकाडोले जेनेभामा सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

विश्व स्वास्थ्य सङ्गठनले गत महिना खडेरीका कारण हैजा र झडापखालालाई निम्त्याउने भन्दै चासो व्यक्त गरेको थियो । सन् २०११ मा खडेरीपछि निम्तिएको भोकमरीले दुई लाख ६० हजार मानिसको मृत्यु भएको थियो । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *