कडा मानसिक रोगले वेवारिसे बनेकाको उपचार सरकारले गर्ने

काठमाडौँ, २५ चैत । सरकारले कडा मानसिक रोग लागि वेवारिसे भएका व्यक्तिका लागि निशुल्क उपचार तथा आश्रयस्थलको व्यवस्था गरिदिने भएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले यस आर्थिक बर्षका लागि तीन करोड रुपैयाँ बजेट छुट्याएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा बोल्दै स्वास्थ्य मन्त्री गगन थापाले कडा मानसिक रोग लागि वेवारिसे बनेका व्यक्तिहरुको उपचार राज्यले निशुल्क गर्ने व्यवस्था मिलाएको जानकारी दिए । उनले त्यस्ता व्यक्तिहरुको सही उपचार तथा निको नहुँन्जेल राख्नुपर्ने आश्रयस्थलका लागि मन्त्रालयले यसवर्षका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

मन्त्री थापाले बीस बर्ष अघिको मानसिक स्वास्थ्य नीति विस्थापित गर्दै नयाँ मानसिक स्वास्थ्य नीति २०७३ घोषणा गर्न लागिएको भन्दै त्यसको मस्यौँदा तयार भई मन्त्रिपरिषद्मा लैजान मात्रै बाँकी रहेको बताए । उनले नयाँ नीति आएपछि मानसिक स्वास्थ्य सम्वन्धी परामर्श तथा उपचारमा सहजता आउने दावी गरे ।

नेपालमा ६० लाख मानिसहरुमा कुनै न कुनै रुपको मानसिक स्वास्थ्य समस्या रहेको अनुमान छ । त्यसमध्ये ९ लाख जना डिप्रेसनमा फसेको अनुमान गरिएको छ । त्यसको १५ प्रतिशतमा कडा मानसिक स्वास्थ्य समस्या भएको चिकित्सकहरु बताउछन् ।

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ प्राडा सरोज ओझा मानसिक स्वास्थ्य समस्या ‘ग्लोवल वर्डेन’ भन्दै यसलाई घटाउन हरेक देशले सक्रियता देखाउनुपर्ने बताए । उनले नयाँ बन्दै गरेको मानसिक स्वास्थ्य नीतिले समस्या निराकरणमा सहयोग पुग्ने बताए ।

डा ओझाले बढदो आत्महत्याको दरमा डिप्रेशन मुख्य कारण रहेको भन्दै नेपालमा पनि आत्महत्याको ७० प्रतिशत कारण डिप्रेसन नै भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले मानसिक स्वास्थ्यको समस्या भयावह रुपमा बढदै गएको भन्दै यसको नियन्त्रण जरुरी रहेको बताए । उनले उददासिनता व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले हरेक वर्ष ७ अप्रिलमा विश्व स्वास्थ्य दिवस मनाउने गरेको छ । डव्लुएचओले यसपटकको नारा उदाशिनता रोगः खुलेर कुरा गरौँ भन्ने तय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *