विश्वका तीस करोड मानिसमा मानसिक समस्या

संयुक्त राष्ट्रसङ्घ, १९ चैत । विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

डब्लुएचओका महानिर्देशक मार्गरेट चानले भने, “यो तथ्याङ्कले मानसिक स्वास्थ्यका बारेमा सबै देशहरुले पुनःविचार गर्नुपर्ने अवस्था देखाएको छ, सबै देशहरु फेरि जाग्नुपर्ने भएको छ, मानसिक स्वास्थ्यको क्षेत्रमा तत्कालै केही न केही गर्नै पर्ने भएको छ ।”

गत सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतभन्दा बढीले मानसिक रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।

त्यसैले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा पनि मानसिक स्वास्थ्यसम्बन्धी राखिएको छ । यही अप्रिल ७ तारिखका दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।

मानसिक रोगीलाई सहयोग गर्न र मानसिक रोगीको सङ्ख्या बढ्न नदिनेतर्फ विज्ञहरुले जोड दिएका छन् ।

मानसिक समस्या भएकाका लागि सहयोगको आवश्यकता छ, स्वस्थ्य र उपलब्धिमूलक जीवनका लागि यससम्बन्धी चेतनामूलक तथा निरोधात्मक उपायहरु अपनाउनुपर्ने भएको छ ।

मानसिक समस्या आत्महत्याको मुख्य कारणको रुपमा देखिएको छ । मानसिक समस्याकै कारण बर्सेनि हजारौँ मान्छेको ज्यान जाने गरेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी पनि बढाउन आवश्यक देखिएको छ । कतिपयदेशमा यस क्षेत्रमा लगानी छुट्याइएकै छैन भने कतिपय देशमा निकै थोरै मात्रै लगानी गरिएको छ ।

मानसिक स्वास्थ्यको समस्या भएका झण्डै पचास प्रतिशतले यससम्बन्धी कुनैपनि उपचार गर्दैनन् ।

सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको झन्डै औसतमा तीन प्रतिशत बजेट मात्रै मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *