स्वास्थ्य मन्त्री गगन थापाले यसरी दिए अंगदान गर्ने मन्जुरीनामा
काठमाडौँ, १५ फागुन ।स्वास्थ्य मन्त्री गगन थापाले मृत्युपश्चात आफ्ना शरीरका सबै अंगहरु दान गर्ने मन्जुरी दिएका छन् । आईतबार स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्री थापाले अंगदान सम्वन्धी मन्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।
उनले हस्ताक्षर गरेको मन्जुरीनामा पत्रमा मृत्युपश्चात मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा गरी ६ वटा अंग झिकेर आवश्यक भएको जुनसुकै विरामी व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भनिएको छ ।
अंगदान गर्ने पत्रमा हस्ताक्षर गरेपछि मन्त्री थापाले आफ्नो मृत्युपछि खेरजाने अंगले धेरैको ज्यान बचाउन सकोस भनेर अंगदान गर्ने निर्णयमा पुगेको बताए ।
कुनै एक व्यक्तिको मस्तिष्क मृत्युपछि उसका ८ वटा अङ्ग अरुलाई प्रत्यारोपण गर्न मिल्छ । सडक दुर्घटना वा अन्य कुनै कारणले आकस्मिक रुपमा मस्तिष्क मृत्यु भएमा मिर्गौला, फोक्सो, आँखा, प्याङ्क्रियाज, सानो आन्द्रा, छाला र मुटु लगायतका महत्वपूर्ण अङ्ग झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।
यस्ता अङ्ग मस्तिष्क मृत्यु भएका व्यक्तिबाट २४ घण्टाभित्र अर्कोमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा मानव अङ्ग दान गर्ने ऐन कार्यान्वयनमा आएपछि अंगदान गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ ।
सम्पर्क इमेल : [email protected]