ग्रामिण क्षेत्रका ७० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या

हेमन्त के सी/जाजरकोट, ११ फागुन । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला बिरामीहरुको उपचार गर्दा ७० प्रतिशतभन्दा बढी पाठेघर खस्ने रोग भएका महिला रहेको पाइएको छ ।

केही दिन अघि स्वास्थ्य चौकी लहँमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका महिलाहरुको ठूलो संख्याका महिलाले पाठेघर खस्ने समस्या भएका महिलाको सहभागिता रहेको चिकित्सक डा जानुका गैरेले जानकारी दिइन ।

शिविरमा पाठेघरका बिरामी, रगत बग्ने, मुत्रनलीमा समस्या भएका, सेतोपानी बग्ने, इमिग्यास्टिक, महिनावारी नहुनेजस्ता बिरामी महिलाको सङ्ख्या धेरै भेटियो, डा गैरेले भनिन, “यो डरलाग्दो अवस्था हो, यस्तो अवस्था अहिलेसम्म अन्य ठाउँमा देखिएको छैन ।”

जनचेतना अभावका कारण गरिने बालविवाह, कम उमेरमा बच्चाको आमा बन्ने, कम जन्मान्तरमा बच्चा जन्माउनुले महिलाहरुमा यस्तो डरलाग्दो समस्या देखा परेको डा गैरेको भनाई रहेको छ । गरिबीका कारण गर्भवती तथा सुत्केरी अवस्थामा गह्रौँ भारी बोक्नुुपर्ने बाध्यताले पनि यस्ता रोग लाग्ने उनले बताइन ।

नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमको आर्थिक सहयोग र क्षेत्रीय स्वास्थ्य कार्यालय, सुर्खेत तथा प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

स्वास्थ्य शिविरबाट २२५ जना महिलाले स्वास्थ्य जाँच गराएर निःशुल्क सेवा लिएको नेपाल रेडक्रस सोसाइटी, जाजरकोटको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम जिल्ला संयोजक छवि पन्तले जानकारी दिए।

सेवा लिएका महिलाहरुमा लहँ–२ की ६६ वर्षीया तस्बीरा रावल, लहँ–४ की ६१ वर्षीया भक्की वली, लहँ–६ की ४५ वर्षीया नानकली वली र लहँकै ५२ वर्षीया मगी रावलको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने अन्तिम अवस्थाका बिरामी फेला परेको संयोजक पन्तले बताए ।

पन्तले दिएको जानकारीअनुसार ती चारजना महिलालाई नेपाल रेडक्रस सोसाइटी, जाजरकोटकै पहलमा यही फागुन १५ गतेदेखि रुकुमको चौरजहारीमा सञ्चालन हुन गइरहेको पाठेघरसम्बन्धी शल्यक्रिया शिविरमा शल्यक्रिया गरिनेभएको छ ।

गत माघ २२ गते लहँ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा यौनाङगबाट रगत बग्ने चारजना, मुत्रनलिमा समस्या भएका ३२ जना तथा सेतोपानी बग्ने ३२ जना, इमिग्यास्टिक ४७ जना, महिनावारी नहुुने तीनजना, लुुतो ३० जना, तल्लो पेट दुुख्ने १० जना, आरइएमका नौजना, पेट दुुख्ने ३६ जना बिरामी फेला परेको संयोजक पन्तले जानकारी दिए ।

दुईसय २५ जना महिलाले निःशुल्क सेवा लिएको उक्त स्वास्थ्य शिविरमा २०७ जना महिला विभिन्न रोगका बिरामी रहेको नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाले जनाएको छ ।

पुरुष डाक्टरसंग खुलेर कुरा गर्न नसक्दा गाँउका अधिकांश महिलाहरु जटिल स्वास्थ्य समस्या बोकेर बस्न बाध्य छन् । स्वास्थ्य संस्थामा एक्लै आउन लजाउने र पुरुष चिकित्सक तथा स्वास्थ्यकर्मीसंग खुलेर समस्या बताउन नसक्दा समस्या बोकेर बस्न बाध्य भएका हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *