मानव अंग प्रत्यारोपण केन्द्रद्धारा रोल्पामा स्वास्थ्य शिबिर

रोल्पा १० फागुन । निशुल्क स्वास्थ्य शिविरका लागि रोल्पा सदरमुकाम लिवाङ पुगेको मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरको टोलीले २ हजार बढीको स्वास्थ्य परीक्षण गरेको छ ।

रोल्पा महोत्सवको अवसर पारि केन्द्रले गत शनिबार र आईतबार लिवाङमा स्वास्थ्य शिबिर राखेको थियो । सो शिबिरमा मिर्गौला, कलेजो, मुटु र स्त्री रोग परीक्षण तथा तथा अंगदान सम्बन्धी जानकारी दिइएको थियो ।

शिबिरका लागि केन्द्रबाट बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कल्पना कुमारी श्रेष्ठ, डा सागर कुमार दुवाल श्रेष्ठ र डा सुमित आचार्य, हृदय रोग शल्य चिकित्सक डा प्रेम राज बैद्य र कलेजो रोग विशेषज्ञ डा प्रविन जोशी रोल्पा पुगेका थिए । त्यसैगरी टोलीमा सहभागी स्त्री रोग विशेषज्ञ डा मधु श्रेष्ठ, रोडियोलोजिष्ट डा मोनिका श्रेष्ठ र एनेष्थेसियोलोजिष्ट डा महालक्ष्मी देउजा तथा मेडिकल अफिसरहरु डा प्रकाश झा, डा सन्देश खाँउजु, डा रमाकान्त राय, डा सुवर्ण थापा लगायतले सेवा दिएका थिए ।

केन्द्रले नर्सिङ्ग निर्देशक इन्दिरा प्रधानको नेतृत्वमा १५ जना स्टाफ नर्स समेत पठाएको थियो । दुई दिनसम्म चलेको उक्त शिबिरमा स्वास्थ्य परीक्षणसंगै अंग प्रत्यारोपण तथा अंग फेल हुनबाट जोगाउने बारेमा जनचेतना मुलक कार्यक्रम गरिएको केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।

उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्न आएकामध्ये ३६ जनामा मिर्गौलाको दीर्घकालिन रोग फेला परेको थियो भने ४५ जनामा मिर्गौलाको पत्थरी, २२ जनामा पिसावको संक्रमण, ८ जनामा प्रोस्टेटको समस्या पाइएको थियो । मिर्गौलाका पुराना ९ जना बिरामीले पनि आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।

त्यस्तै शिबिरमा १ हजार ५ सय जनाको पिसाबको परीक्षण गरिएको थियो । मुटुका रोगीहरु ५० जना मध्ये ब्लड पे्रशरका रोगीहरु ३८ जना, मुटुको भल्ब रिपेयर गरेको २ जना र ३ जनालाई अप्रेशनको लागि सिफारिस गरिएको थियो ।
उक्त शिविरमा २६ जनाको इ.सि.जि. परीक्षण गरिएको थियो भने भिडियो एक्सरे करीब ८२ जनाको गरिएको थियो । कलेजो तर्फ १ जनामा हाइडेटिड ९ज्थमबतष्म० सिस्ट र ३ जनमा पित्तको पत्थरी तथा ३ जनामा जण्डिस देखिएको थियो ।
स्त्री रोग तर्फ करीब ३०० जनाले परिक्षण गराउनु भएको थियो जसमध्ये सेतो पानी बग्ने २५० जना, पाठेघरको ट्युमर ३ जना, पाठेघर सुन्नीएको ३ जना, आङ झर्ने ३ जना, पाठेघरको मुखमा घाउ भएको ५ जनामा फेला परेको थियो । उक्त शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो भने १२४ जनाले मृत्यु पश्चात मिर्गौला दान गर्न मञ्जुरीनामा दिएका थिए ।
शिबिर पछि प्रतिक्रिया दिदै रोल्पा उद्योग बाणिज्य संंघका अध्यक्ष बालकृष्ण सुवेदीले यस किसिमको विशेषज्ञ स्वास्थ्य शिविर रोल्पा जस्तो विकट जिल्लामा आयोजना हुनु जिल्लावासीहरुको लागि खुशीको कुरा भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *