म्याद गुज्रेका औषधि स्कुल स्कुलमा !

वीरगन्ज २४ पुस । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको छ ।

स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो । म्याद गुज्रिएका पारासिटामोल, हेन्डिप्लास्ट, मलम, जीवनजल र हातमा लगाउने ग्लोब राखेर प्राथमिक उपचार बक्स विद्यालयमा पठाइएको थियो ।

जनस्वास्थ्यले खरिद गरेर विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा रहेका औषधिमध्ये पारासिटामोल ट्याब्लेटको सन् २०१६ अगस्ट र पेरिनोर्म मलमको म्याद नोभेम्बर २०१६ मै सकिएको छ । ब्यान्डेज, ग्लोब र साबुनको म्याद पनि ६ महिनाअघि सकिएको छ ।

जनस्वास्थ्यले साउन २३ मा शिक्षा कार्यालय पर्सामा सामुदायिक विद्यालयमा वितरण गर्न औषधिसहितको प्राथमिक उपचार बक्स पठाएको थियो । तर शिक्षा कार्यालयले असोज पहिलो सातामा ६ वटा स्रोत केन्द्रमातहतका सामुदायिक विद्यालयमा प्राथमिक उपचार बक्स वितरण गरेको थियो ।

ठोरी, भिस्वा, पोखरिया, जितपुर नौका टोला, बर्बा छटौली एवं वि श्रामपुर स्रोत केन्द्रमातहतका विद्यालयमा असोज पहिलो साता र श्रीपुर स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने चार दिनअघि प्राथमिक उपचार बक्स पठाइएको जानकारी पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले दिए । ‘म यहाँ असोज १७ मा सरुवा भई आएको हुँ, उनले भने, ‘सातवटा स्रोत केन्द्रमा म आउनुअघि नै बक्स पठाइसकिएको रहेछ । मैले श्रीपुर स्रोत केन्द्रमा मात्रै पठाएको हुँ । बाँकी दुई केन्द्रमा औषधि पठाउन बाँकी छ ।’

म्याद गुज्रिएका पारासिटामोल, हेन्डिप्लास्ट, मलम, जीवनजल र हातमा लगाउने ग्लोब राखेर पर्सा जनस्वास्थ्य कार्यालयले विद्यालयहरूमा प्राथमिक उपचार बक्स पठाएको थियो ।

बक्समा म्याद गुज्रिएका औषधि रहेको गुनासो आएपछि औराहा पचगवा र त्रिजुद्ध स्रोत केन्द्रका विद्यालयमा अ‍ैषधिसहितको बक्स नपठाइएको उनले बताए ।

शिक्षा कार्यालयको गोदाममा प्राथमिक उपचार बक्स अलपत्र परेपछि आफूले वितरण गर्न निर्देशन दिए पनि औषधि म्याद गुज्रिएको अवस्थामा भेटिएपछि वितरण रोकेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पर्साका सामुदायिक विद्यालयमा पठाइने प्राथमिक उपचार बक्स र औषधि खरिदका लागि गत आर्थिक वर्ष २०७२/७३ मै जिल्लामै जनस्वास्थ्य कार्यालयलाई १४ लाख रुपैयाँ निकासा गरेको थियो ।

  • आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *